बाख्रापालनको अनुदानमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह र निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
व्यवसायी पकेट कार्यक्रमका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा पालनका लागि बिनियोजित रकम कामै नगरी भुक्तानी भएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
ब्यवसायीक बाख्रा पालनलाई प्रोत्साहन गर्न बिनियोजन भएको रकम वडा नं ६ फुलकाही स्थीत माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेपनि त्यसलाई कार्यान्वयन नगरि नक्कली बिल भर्पाई र झुटा बिवरण पेश गरि करिव १५ लाख भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
उनिहरुले फर्जि बिल बनाई १४ लाख ७१ हजार ९२१ रुपैयाँ भुक्तानी गरेको बिवरण तैयार गरेका थिए ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव र कार्यालयका लेखापाल सरोजकुमार मण्डलले नक्कली बिल भरपाइलाई नै सदर गरि माँ जगदम्बा कृषक समूहलाई भुक्तानी दिन टिप्पणी आदेश स्वीकृत गरेर भुक्तानी दिएको अख्तियारका प्रवक्ता भोला दाहालको भनाई छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका पशुबिकास अधिकृत अर्जुनप्रसाद यादल, माँ जगदम्बा कृषक समुहका अध्यक्ष राधेश्यामकुमार शाह र समुहका कोषाध्यक्ष निलमकुमारी शर्मा समेतका बिरुद्धमा भ्रष्टाचार मुद्धा दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।