राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरू सांसद निर्वाचित भएको भन्दै यसको औचित्यमाथि विचार गर्नुपर्ने बताउनुभएको छ ।
आज बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा अध्यक्ष केसीले निर्वाचन प्रणाली खर्चिलो भएको बताउनुभएको हो । उहाँले वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान् र राम्रो मान्छेले सपनामा पनि चुनाव जित्न नसक्ने जिकिर गर्नुभयाे ।
समानुपातिक निर्वाचन प्रणाली दलित, जनजाति तथा विपन्न समुदायका लागि राखिएको भए पनि धनाढ्य र पहुँचवालाहरू सांसद बन्ने गरेका अध्यक्ष केसीकाे भनाइ छ । उहाँ शक्ति र सम्पत्ति भएकाहरू समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेका भन्दै यसको औचित्यमाथि प्रश्न उठाउनुभयो ।
उहाँले भन्नुभयो, ‘चुनाव यति खर्चिलो भयो कि अब योग्य, क्षमतावान्, राम्रो मान्छेले चुनाव सपनामा पनि जित्न सक्दैन । विपनाको कुरा छाडिदिउँ । यसमा राजनीतिक पार्टी नै जिम्मेवार छन् । आयोगले पनि राम्रोसँग चुनावको अनुगमन गरेको छैन । समानुपातिक निर्वाचन प्रणाली डरलाग्दो कुरा भयो । समानुपातिकमा पार्टीभित्रका सबंभन्दा धनाढ्य, पहुँचवालाहरू आएपछि त्यसकाे औचित्य के ? समानुपातिकमा पटक–पटक शक्ति, सम्पत्ति भएकाहरू दोहोरिएर आउने हो भने यसकाे औचित्य रहन्न हाम्रो पार्टीको ठहर छ ।’
अध्यक्ष केसीले निर्वाचन शिक्षा पनि अझ राम्रोसँग दिनुपर्ने बताउनुभयो । त्यस्तै विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।
श्राेत:उज्यालाे अनलाईन