आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह


editor@sajhakura September 29, 2023

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । 

आज शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गर्नुभयो । उहाँले पछिल्लो समय चार वटा अस्पतालमा भएका घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी दिनुभयो । चिकित्सकहरूलाई सुरक्षाको प्रत्याभूतिको सरकारले दिनेमा उहाँले प्रतिबद्धता जनाउनुभयो । 

‘यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ । पछिल्ला चार वटा घटनाको छानबिन र कारबाहीको काम गृह मन्त्रालयले अघि बढाइसकेको छ । आन्दोलन फिर्ता लिएर सेवामा फर्किन अनुरोध छ’, उहाँले भन्नुभयो ।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका धेरैजसो समस्या समाधानका लागि दरबन्दी थप्ने काम अघि बढेको पनि जानकारी दिनुभयो । ‘अहिले देखिएका धेरैजसो समस्याका पछाडि कम दरबन्दी हुनु पनि हो, दरबन्दी थप्ने काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।’

आजको बैठकमा गृह मन्त्रालयका सचिव दिनेश भट्टले आन्दोलनरत आवासीय चिकित्सकलाई आन्दोलनको कार्यक्रम फिर्ता लिएर काममा फर्कन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘घटनामा संलग्नलाई कारबाही गर्न मन्त्रालय सुरक्षा प्रशासन प्रयत्नशील छ । आन्दोलनले आमनागरिकमा पर्न गएको समस्याप्रति संवेदनशील बन्न आग्रह गर्दछु ।’

आन्दोलनरत आवासीय चिकित्सकहरूले आफ्नो सुरक्षाका लागि सडकमा आउन बाध्य भएको बताएका छन् । उनीहरूले मणिपाल शिक्षण अस्पतालमा भएको घटनामा संलग्नलाई तत्काल काबाहीको माग गरेका छन् । 

समितिका धेरैजसो सदस्यले समस्याको दीर्घकालीन समाधान खोज्नेतर्फ जोड दिनुभएको थियो । समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको दुर्व्यवहारको स्थलगत अध्ययन गरेर दीर्घकालीन समाधान खोज्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *