एजेन्सी । दक्षिण कोरियाबाट गत जुलाईमा अवैधानिक रुपमा उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिकलाई उत्तर कोरियाले देश निकाला गर्ने भएको छ ।
गत जुलाइमा दक्षिण र उत्तर कोरिया छुट्याउने विभाजन लाइन क्षेत्रको घुमघामका क्रममा त्यहाँबाट भागेर उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिक ट्राभिस किङलाई निस्कासनको निर्णय गरिएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।
तर उनलाई कहिले र कहाँबाट निश्कासन गरिने छ भन्ने खुलाइएको छैन । उत्तर कोरियाली सैनिक हिरासतमा रहेका उनले आफू जातीय भेदभाव र विभेदको शिकार भएका कारण भागेर उत्तर कोरिया छिरेको दाबी गरेका थिए ।
अमेरिकाले भने शुरुदेखि नै किङलाई सकुशल घर फर्कने वातावरण मिलाउन आग्रह गर्दै आएको थियो । उनी उत्तर कोरिया छिर्नु अघि मात्रै दुई महिना सैन्य हिरासतमा बसेको पनि खुलेको थियो ।