श्रावण ५
पदको दुरुपयोग गरी अमेरिकी दूतावासमा भिसा सिफारिस गरेको भन्दै उपसभामुख इन्दिरा राना बिरुद्ध संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उजुरीमा उपसभामुखमाथि गहन छानबिन गरी जिम्मेवारीबाट हटाउन समेत माग गरिएको छ ।
समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यसबारे सभामुख देवराज घिमिरेलाई जानकारी दिईएकाे बताए । उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लैजाने गरी डेढ वर्षअघि दूतावासमा पत्र लेखेको सार्वजनिक भएपछि अहिले याे बिषयले राजनिति तातिएकाे छ ।
रानाले अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूतावासलाई उपसभामुखको लेटरप्याड प्रयोग गरेर पत्र पठाएकाे आराेप छ । उपसभामुख रानाले भने आफूविरुद्ध नियोजित षडयन्त्र गरिएकाे बताईन् ।
आराेपकाे प्रतिबाद गर्दै उपसभामुख रानाले आफूले करूणाभावले पत्र लेखेको तर पत्र लेखेको डेढ वर्षपछि अनावश्यक लफडा झिकिएकाे भन्दै दुख ब्यक्त गरेकि छिन् ।