खाँदबारी, २९ माघ
पूर्वको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल संखुवासभाको मनकामना धाम संरक्षणका लागि बाँध निर्माण गरिएको छ ।
संसारको सबैभन्दा होचो उपत्यका अरुण उपत्यकामा अवस्थित प्रसिद्ध मनकामना मन्दिरमा क्षेत्रमा अरुण नदीले क्षति पु¥याएपछि त्यसको संरक्षणका लागि बाँध निर्माण गरिएको हो ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा सिंचाई विभागले उक्त धाम संरक्षणका लागि आवश्यक वजेट विनियोजन गरेसँगै संरक्षणको कामले गति लिएको हो । विगत तीन वर्षदेखि सप्तकोशी नदीको मुख्य सहायक नदीको रुपमा रहेको अरुण नदीले आफ्नो वहाव क्षेत्र परिवर्तन गरि मनकामना धाम तर्फको क्षेत्र कटान गर्दै आएको थियो ।
उक्त कटानका कारण सम्पूर्ण मनकामना धाम तथा ज्येष्ठ नागरिक आवास क्षेत्र समेतमा गम्भीर क्षति पुग्ने अवस्था सिर्जना भएको थियो । यसै हिँउद याममा मनकामना धाम क्षेत्र तटबन्धन गरी संरक्षण नगरेमा मनकामना धामको ऐतिहासिक एवम् पुरातात्विक महत्वको सम्पूर्ण संरचनाहरु नदी कटानका कारण क्षति हुने अवस्था थियो ।
उक्त धामको संरक्षणको काम हाल अन्तिम चरणमा पुगेको र तटबन्धन निर्माणका लागि उर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीको सचिवालयले आवश्यक समन्वयको कार्य गरिरहेको छ ।
संखुवासभाको खाँदबारी नगरपालिका वडा नं ९ तुम्लिङटारको उत्तरी क्षेत्रमा अवस्थित उक्त धाममा एकादशीमा ठूलो मेला लाग्ने गर्दछ । उक्त मन्दिरमा दर्शन गर्नाले मनले चिताएको कुरा पुग्ने जनविश्वास रहेको छ । गोरखाको मनकामनाजस्तै संखुवासभा पूर्वको मनकामना धामको रुपमा प्रख्यात छ ।