ऋणीहरूले समयमा साँवा तथा ब्याज भुक्तानी गर्न आनाकानी गरेपछि बागलुङको एक सहकारीले धार्मिक बाटो रोज्ने भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले ऋणीहरूको सचेतनाका लागि ‘सहकारी पुराण’को योजना सार्वजनिक गरेको हो ।
पुराणमा कसैको ऋण खानु, नतिर्नु पाप हो भनेर उल्लेख भएको चर्चा हुन्छ, त्यसैले अब हामीले सहकारी पुराणमार्फत सहकारी शिक्षा प्रदान गर्ने योजना बनाएका छौँ”, सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले भने, ‘नाम चलेका पण्डित बोलाएर भव्य सहकारी पुराण गर्ने योजना छ ।’ सहकारीले पत्रकार सम्मेलन गरेर विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो ।
“पुराणमा सहभागिताका लागि ऋण नतिर्नेलाई बोलाइने छ, अन्य शेयर सदस्यलाई पनि सहभागी गराइने छ, सहकारी पुराणले ऋण नतिर्नेलाई ज्ञान दिनेछ”, शर्मा भन्छन्, “नियमावलीमा तोकिएका प्रक्रियामा जानुपूर्व हामीले सचेतनामार्फत नै ऋण भुक्तानीको बाटो खोजेका हौँ ।”