सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अध्ययनरत चिकित्सकलाई बिरामीका आफन्तले कुटपिट गरेका छन् । पोखरास्थित मणिपाल अस्पताललगायतमा भएको घटनापछि आन्दोलनरत चिकित्सकहरूसँग सरकारले सहमति गरेको भोलीपल्ट नै राजधानीमा पुनस् डाक्टर कुटिएका छन् ।केएमसीका अध्ययनरत एक चिकित्सकका अनुसार ओपीडीमा कार्यरत इन्टर्न डा, मनिष खड्कामाथि बिरामीका आफन्तहरूले हातपात गरेसँग त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन सुरु गरेका हुन् ।
उनको अनुसार इन्टर्न चिकित्सकले ओपीडीमा जम्मा भएर हल्लाखल्ला नगर्न र बाहिर गएर पर्खन भनेपछि एक बिरामीका आफन्तले ती चिकित्सकलाई गाली गर्दै कुटपिट गर्न सुरु गरेका थिए । उनीहरूले ती चिकित्सकलाई उचालेर भूइँमा पछार्नुका साथै चिकित्सकलाई जोगाउन गएकी एक महिला एटेन्डेन्टलाई पनि हातपात गरेका छन् ।
घटनापछि अस्पतालतमा कार्यरत चिकित्सक तथा इन्टर्नहरूका साथै स्वास्थ्यकर्मीले अस्पताल अगाडीको बाटोमा जम्मा भएर नाराबाजी गरिरहेका छन् । उनीहरूले डाक्टर कुट्नेलाई तुरुन्तै पक्राउ गरी गृहमन्त्रीको रोहवरमा भएको सहमतिको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
त्यहाँ कार्यरत चिकित्सकका अनुसार चिकित्सक कुट्नेमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने २ जना फरार भएका छन् । केएमसीका चिकित्सक तथा इन्टर्नहरूको विरोध प्रदर्शन चक्रपथतर्फ अगाडि बढ्ने भएपछि त्यहाँ ठूलो मात्रामा प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरेर उनीहरूलाई रोक्ने प्रयास भइरहेको छ ।