४१ औं वार्षिकोत्सवको अवसरमा नेपाल अर्बूद रोग निवारण संस्थाले क्यान्सर डाइग्नोसिस सेन्टर स्थापना गर्ने उदेश्यले पदयात्रा कार्यक्रमको आयोजना गर्नेभएको छ ।
आगामि भदौ ३० गते शनिबार “स्टेपिङ फरवार्ड फर क्यान्सर फ्री फ्युचर” भन्ने नारा साथ आयोजना हुने पदयात्रा कार्यक्रम इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा हुनेछ भने उक्त पदयात्रा काठमाण्डौंको खुल्लामञ्चबाट सुरु भई भद्रकाली, सिंहदरबार, माइतीघर, थापाथली, टेकू, परोपकार, काष्ठमण्डप, दरबार स्क्वायर, न्यूरोड गेट, रानी पोखरी, दरबार मार्ग हुँदै ७ किलोमिटरको यात्रा पछि खुल्लामञ्चमा नै आई टुंगिने आयोजक संस्था नेपाल अर्बूद रोग निवारण संस्थाका केन्द्रिय सदस्य दीपेन्द्र बान्तवाले जानकारी दिए ।
“क्यान्सर रोगवाट बच्ने उपाय र विधि बारेमा चेतना जगाउने, पीडितको उपचारमा थप सहयोग जुटाई परिवारका सदस्यहरुको आर्थिक बोझ व्यवस्थापनमा सहयोग गर्ने तथा क्यान्सर रोगबाट बच्नका लागि अपनाउनु पर्ने सावधानीका बारेमा देशब्यापी जनचेतना अभिबृद्धि गर्न पदयात्रा कार्यक्रम गर्न लागिएको नेपाल अर्बूद रोग निवारण संस्थाका अध्यक्ष महेश श्रेष्ठको भनाई छ ।
क्यान्सर र यसवाट बच्न अपनाउनु पर्ने सावधानी तथा रोकथामका विषयमा स्वास्थ्य परामर्श दिने लगायत रक्तदान कार्यक्रम समेत रहेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । कार्यक्रममा विभिन्न किसिमका निशुल्क स्वास्थ्य परीक्षणका कार्यक्रम राखिएको उनको भनाई थियो ।
पदयात्रामा सहभागी हुनेहरुले प्रतिव्यक्ति १ हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदा टीशर्ट, क्याप, र फूड प्याकेज पाउनेछन् । कार्यक्रमको पेमेण्ट पार्टनर आईएमई पे मा लगइन गरेर पदयात्रामा सहभागि हुनका लागि टिकट खरिद गर्न सकिने इभेण्ट सोलुसनले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संरक्षकत्व तथा काठमाण्डौं महानगरपालिकासँगको सहकार्यमा आयोजना हुन लागेको कार्यक्रमको मुख्य प्रायोजकका रुपमा सेरो ल्याब ग्रुप रहेको छ भने अन्य ३ दर्जन बढी संस्थाहरुले सहयोग गरेका छन् ।