पाैष १२
संखुवासभाका निर्वाचित प्रतिनिधीसभा सदस्य एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संखुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीन तर्फको सीमा नाका किमाथांका जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको छ ।
उर्जामन्त्री खड्काले आज रक्षामन्त्री मानविर राईलाई भेटेर खाँदबारी–किमाथांका सडक निर्माणको गति सुस्त भएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उर्जामन्त्री खड्काले सडक तत्काल सञ्चालनमा ल्याउन रक्षामन्त्रीको ध्यानाकर्षण गर्नुभयो । उक्त सडक रक्षा मन्त्रालयअन्तर्गत रहेको नेपाली सेनाले निर्माण गरिरहेको छ ।
उक्त भेटमा उर्जामन्त्री खड्काले सडकको वर्तमान अवस्थाको बारेमा जानकारी लिँदै उक्त सडक निर्माणमा संलग्न नेपाली सेनालाई चाँडो सडक सम्पन्न गरी सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । छलफलमा मन्त्री खड्काले खाँदबारी किमाथांका सडक कोशी ल्हासा राजमार्ग अन्तर्गत रहेको र उक्त खण्ड जोडिएपछि यो सडकले त्रिदेशीय पारवाहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
मन्त्री खड्काले यो त्रिदेशीय नाका जोड्ने सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका अलावा बङ्गलादेशले समेत फाईदा लिनसक्ने भन्दै सडक सञ्चालनमा आएसँगै नेपालको आर्थिक क्षेत्रको विकासमा यो सडक कोशेढुङ्गा बन्नसक्ने बताउनुभयो ।
किमाथांका क्षेत्र हुँदै नेपालको प्रसिद्ध नदी अरुणको वहाव रहेकाले उक्त क्षेत्रमा अन्य धेरै जलविद्युत आयोजनाहरु निर्माण गर्न सकिने र यो सडकको पहुँचमार्फत जलविद्युत विकासमा समेत उल्लेख उपलब्धी हाँसिल गर्न सकिने हुँदा यो सडक शीघ्र सञ्चालनको बहुआयमिक महत्व रहेको बताउनुभयो ।
भेटमा रक्षामन्त्री राईले नेपाली सेनाद्धारा निर्माण भइरहेको उक्त सडक मुलुक विकासमा महत्वपूर्ण पूर्वाधारको रुपमा रहने भएको हुँदा निर्माणमा संलग्न सेनालाई गुणस्तरीय रुपमा यथाशीघ्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आवश्यक निर्देशन दिनुभयो । दुई मन्त्रीको भेटमा रक्षामन्त्री राईले पूर्वको किमाथांका नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराउनुभयो ।
भेटमा नेपाली सेनाका महासेनानी धर्मेन्द्र कुमार झाले खाँदबारी–किमाथांका सडकखण्डको अति विकट खण्डमा समेत ट्रयाक खोल्ने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले उक्त सडकका लागि हाल छुट्याइएको वजेट अपर्याप्त रहेको र वजेटको सुनिश्चितता भएमा आगामी दुई महिनाभित्र सडक निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिने जानकारी गराउनुभयो ।
कोशी ल्हासा राजमार्गअन्तर्गतको जोगवनीदेखि संखुवासभाको सदरमुकाम खाँदबारीसम्म यसभन्दा अगाडि नै सडक कालोपत्रे भई यातायात सञ्चालनमा रहेको अवस्था छ । खाँदबारीदेखि किमाथांका सम्मको सडकखण्ड भने नेपाली सेनाले ट्रयाक खोल्ने तथा स्तरोन्नती गर्ने कार्य गरिरहेको छ । खाँदबारीदेखि किमाथांकासम्मको दूरी १५८.५१ किलोमिटर रहेको छ । उक्त दूरीमा पनि आंशीक रुपमा यातायातका साधान सञ्चालनमा रहेका छन् ।