वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ बर्षको उमेरमा निधन भएको छ । आज सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
भजन शिरोमणिको उपाधिबाट सम्मानीत स्वर्गिय आचार्य लामो समय देखि अस्वस्थ थिए । आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेको बताईएको छ ।
संगीतकार हरि लम्सालका अनुसार अपराह्न साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र लम्सालले उनलाई मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको हो ।
आचार्यको पार्थिव शरीरलाई भोली अर्थात मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाई गरिने जनाईएको छ ।
स्वर्गिक आचार्य १९९९ सालमा धनकुटामा जन्मिएका थिए । उनको नेपाली सुगम संगीतमा विशिष्ट स्थान रहिआएको छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् । आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । उनले भजन पनि दर्जनौंको संख्यामा गाएका छन् । आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् ।