असार २९
पूर्वीनवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा भेटिएको दुईमध्ये एक पुरुषको शव चितवनको नारायणजगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता पारेको गणपति डिलक्सका यात्रु पुष्टि भएको छ।
चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले एउटा शव सर्लाही बरहथवा नगरपालिका ३ बस्ने वर्ष १९ का रमित कुशर माझीको भएको थाहाखबरलाई जानकारी दिए। उनका बुवा रविन्द्र कुशर माझीले छोराको पहिचान गरेका हुन्।
उनी काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३ ००१ ख २४९५ नम्बरको गणपति डिलक्समा सवार यात्रु हुन्। गैँडाकोटमै फेला परेको अर्को शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
आज दिउँसो माछा मार्ने बोटेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। गैँडाकोटमा प्रकृति मुचुल्का उठाइ शव पहिचानका लागि चितवन ल्याइएको थियो।
यसअघि आज विहान जिल्लाको भरतपुर महानगरपालिका–२८ गोलाघाटस्थित नारायणी नदी किनारमा सिमलताल पहिरोले बगाएको बसका यात्रु भारतीय नागरिक ऋषिपल साहको शव फेला परेको थियो।