कार्तिक ७
डँडेलधुरामा रात्रिबस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा आज बिहान थप एक महिलाको शव भेटिएको छ । योसहित ज्यान गुमाउनेको संख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय डँडेलधुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डँडेलधुराका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी उपेन्द्रबहादुर बमका अनुसार बैतडीको पुर्चौंडी नगरपालिका–१० की गोवणी महराको शव बिहान घटनास्थलबाट निकालिएको छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको ना ८ ख १०७८ नम्बरको बस गएराति डँडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो । दुर्घटनालगत्तै पुर्चौँडी–३ का ४५ वर्षीय जैमती बोहरा, एक नाबालक, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको शव भेटिएको थियो ।
नाबालक, सहदेव र कमला एकैपरिवारका रहेका प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो ।
बसमा १७ जना रहेकोमा चालक बैतडीको पुर्चौडि नगरपालिका–८ का २४ वर्षिय बिरेन्द्र बोहरासहित १२ जना घाइते भएका छन् ।
उनीहरु सबैको धनगढीमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।