संखुवासभा, फागुन ६
(फोटो फिचर सहित)
शिक्षक संगठनहरुको छाता संगठन नेपाल राष्ट्रिय शिक्षक महासंघले नयाँ शिक्षा ऐन लागु हुनुपर्ने माग राख्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । देशका ७ सय ५३ वटै पालिकाहरुमा आजबाट महासंघले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । यसै सन्दर्भमा नेपाल शिक्षक महासंघ संखुवासभाले खाँदबारी नगरपालिका लगायत जिल्लाका दशैवटा पालिका प्रमुखहरुलाई शिक्षा ऐन २०२८ खारेजी तथा नयाँ शिक्षा ऐनको माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।
आज नेपाल राष्ट्रिय शिक्षक महासंघ र जिल्ला स्थीत शिक्षक संगठनहरुका प्रतिनिधीहरुले सबै शिक्षक संगठनहरुको अगुवाई गर्दै खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया नगर शिक्षा संयोजक दीपकमणी घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् । उनिहरुले शिक्षा ऐन २०२८ समय सान्दर्भिक र शिक्षकको हितमा नभएकाले नयाँ शिक्षा ऐन लागु गरि शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन् । उनिहरुले शिक्षकहरुको हक अधिकार सुनिश्चित गर्दै शिक्षा क्षेत्रमा देखिएको बिकृति बिसंगति अन्त्यका लागि ठोस कदम चाल्न सरकार समक्ष आग्रह समेत गरेका छन् ।
ज्ञापनपत्रमा २०२८ को शिक्षा ऐनले शिक्षकलाई दोश्रो दर्जाको नागरिक सरह बिभेदकारी अवस्था श्रृजना गरेको भन्दै शिक्षा क्षेत्रको सुधारका लागि नयाँ शिक्षा निति आवश्यक भएकोमा जोड दिएका छन् । उनिहरुले शिक्षकहरुको मागको सम्वन्धमा सरकारले पटक पटक सहमति र सम्झौता गर्ने तर उक्त प्रतिवद्धताहरु सरकारले कहिल्यै कार्यान्वयनमा नल्याउने गरेको भन्दै आफ्ना मागहरु तत्काल सम्बोधन नगरे कडा चरणबद्ध आन्दोलन शुरु गरिने चेतावनी समेत दिएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठनले बुझाएको ज्ञापन पत्र बुझ्दै खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले शिक्षकले राखेको मागको सम्वन्धमा नगरपालिकाले सकेको सहयोग र पहल गर्ने बताउँदै नगरपालिकाको तर्फबाट शिक्षकको मागको सम्वन्धमा आफुले सकेको सकारात्मक भुमिका निर्वाह गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
