धनकुटा नगरपालिकाले सहकारी ऐनविपरीत कार्य गरेको भन्दै नगरभित्रका १७ वटा सहकारी संस्था खारेज गरेको छ । धनकुटा नगरपालिकाले सहकारी संस्था नियमन गर्न बनाईएको सहकारी ऐन २०७५ विपरीत कार्य गरेको पाईएको भन्दै नगर क्षेत्रका ७० मध्ये १७ सहकारी संस्था खारेज गरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको भनाई छ । पटक पटक ऐन विपरित कार्य नगर्न सुचित गर्दासमेत संस्थाका संचालकले कुनै चासो नदिएपछि बाध्य भएर खारेज गरिएको नगरप्रमुख तामाङ्गले बताए ।
उनले खारेजी गरिएका बाहेक अन्य चारवटा सहकारीका निक्षेपकर्ताले समेत सहकारि बिरुद्ध उजुरी गरेकाले उक्त सहकारिलाई छानबिनको दायरामा ल्याइएको छ । ती संस्थाका उपभोक्ताको साढे ३ करोडभन्दा बढी रकम सहकारिमा निक्षेप रहेको उनको भनाई छ । उपभोक्ताको लगानी डुब्ने अवस्थामा पुग्ने देखिएकाले हामीले ति सहकारिलाई छानबिनको दायरामा ल्याएका हौं उनले थपे ।
रकम फिर्ताको माग सहित चार सहकारि बिरुद्ध निक्षेपकर्ताको उजुरी परेका ले ३५ दिन भित्रमा रकम फिर्ता गर्न नगरपालिकाले सहकारिलाई पत्राचार गरिसकेको धनकुटा नगरपालिकाका आर्थिक शाखा प्रमुख विकास अधिकारीले पुष्टि गरे । यसैबीच, चार वर्षदेखि सहकारी ऐनविपरीत कार्य गर्ने १७ सहकारी संस्थालाई खारेजी गरिएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिए ।
खारेजिमा परेका १७ मध्ये ९ वटा कृषि सहकारी संस्था रहेका छन् । खारेजीमा पर्ने सहकारीहरुमा धनकुटा ६ को अन्नपूर्ण वचत तथा ऋण सहकारी, अर्गानिक तरकारी उत्पादन तथा कृषि पर्यटन सहकारी, धनकुटा ४ को श्रीहजुरको उपभोक्ता, सदावहार कृषि सहकारी, धनकुटा ८ का टेकुनाला कृषि, आठपहरिया बंगुरपालन कृषि, सान्ताङ कृषि, धनकुटा १ का जनकल्याण वचत तथा ऋण, जनसहारा उपभोक्ता, मकालु चिया तथा कफी उत्पादन साना किसान कृषि, धनकुटा २ का भीरगाउँ दूग्ध उत्पादक, मधुगंगा सुन्तले विद्युत, नवविहानी कृषि, धनकुटा ७ को सहयात्री कृषि, धनकुटा ३ को सुगन्धित चिया उत्पादन कृषि, धनकुटा ५ को क्रमिक दैनिक वचत तथा ऋण र धनकुटा ९ को थानी उपभोक्ता सहकारी संस्था रहेका छन् ।