निर्वाचन आयोगद्धवारा राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

निर्वाचन आयोगद्धवारा राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत


editor@sajhakura December 20, 2023

निर्वाचन आयोगले आगामी माघ ११ गते तोकिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ ।
राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर मतदाता हुने कानुनी व्यवस्था भए बमोजिम प्रदेशसभा सदस्य पाँच सय ४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर एक हजार चार सय ९८ गरी २ हजार ४७ जनाको मतदाता नामावली स्वीकृत गरेको हो ।

निर्वाचनका लागि मतदाता स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कुल मतदाता पाँच सय ५० मध्ये निधन भएका प्रदेश सभा सदस्य एक जनाको नाम हटाई पाँच सय ४९ जना कायम राखिएको छ । । त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरतर्फको कुल मतदाता एक हजार पाँच सय छ मध्ये निधन भएका गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, नगरपालिका उपमेयर एक र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष एक, नगरपालिकाका मेयर चार गरी आठ जनाको नाम काटि जम्मा १ हजार ४ सय ९८ जनाको नामावली स्वीकृत गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदाताको स्वीकृत मतदाता नामावली आयोगको वेबसाइटमा समेत प्रबिष्ट गरि प्रकाशन समेत गरिसकिएको आयोगले जनाएको छ ।

निर्वाचन कार्यक्रम बमोजिम आउँदो पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा स्वीकृत भएको मतदाता नामावली प्रकाशित हुनेछ र प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनुपर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिनेछ भने पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

उल्लिखित मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको मतभार १९ रहेकोले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि प्रदेश सभा सदस्यको कुल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको कुल मतभार २८ हजार चार सय ६२ गरी जम्मा ५७ हजार पाँच सय ५९ मतभार रहेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *