इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. घिमिरे
भाद्र २४
नेपालमा गएको आर्थिक बर्षमा आत्महत्याको दर भयावह अवस्थामा देखिएको छ । नेपालमा आर्थिक वर्ष २०८०÷०८१ मा सात हजार दुई सय २३ जनाले आत्महत्या गरेको तथ्यांङ्कले देखाएको छ । विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भमा काठमाण्डौमा आयोजित कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आत्महत्याको उक्त भयावह विवरण सार्वजनिक गरेको हो ।
महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालमा हरेक दिन औसतमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रस्तुत गरेका थिए ।
आत्महत्याको कारणमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक र आर्थिकलगायत रहेका देखिएको छ । विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरू अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेको उनको भनाई थियो ।
‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौं भन्ने नारासहित’ आउँदो मङ्गलवार विश्व आत्महत्या रोकथाम दिवस बिभिन्न कार्यक्रमहरुका साथ मनाइँदै छ ।