संखुवासभा माघ १०
नेपाल पत्रकार महासंघ संखुवासभाको संयोजन तथा खाँदबारी नगरपालिकाको आयोजनामा खाँदबारी नगरपालिकाको सेवा प्रवाह, बिकास निर्माण तथा सुशासनका सन्दर्भमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने भएको छ ।
संखुवासभाको सबैभन्दा पहिलो नगरपालिका खाँदबारी नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को सन्दर्भमा गरिएका योजना कार्यान्वयनको अवस्था, सेवाप्रवाह र समस्या चुनौती, अवसर र संभावनाका बारेमा नगरपालिकाका जिम्मेवार नेतृत्वबाट जवाफ खोज्ने उदेश्य स्वरुप आगामी माघ १४ गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने तय भएको नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले जानकारी दिए ।
नगरपालिकाबाट भैरहेको सेवा प्रवाहको अवस्था, आर्थिक बर्ष २०८१÷०८२ मा नगरसभाबाट पारित निति तथा कार्यक्रमको प्रगति विवरण र सुशासनको अवस्थाका बारेमा नगरबासिलाई सुसुचित गर्न सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको अध्यक्ष शाक्यले बताए ।
खाँदबारी नगरपालिकाको सभाहलमा आयोजना हुनगैरहेको सार्वजनिक सुनुवाई कार्यक्रममा खाँदबारी नगरपालिकाले गर्दैआएको बिकास निर्माणको काम, सेवाप्रवाह र सुशासनका सन्दर्भमा कुनै जिज्ञासा, गुनासा र सल्लाह सुझाव भए आफ्ना कुरा राख्न सबैलाई नगर र जिल्लाका संचार माध्यमहरुबाट समेत सार्वजनिक रुपमा निमन्त्रणा गरिएको नेपाल पत्रकार महासंघ संखुवासभाले जनाएको छ ।
