न्युरोड क्षेत्रमा पार्किङ्ग निषेध गरेको भन्दै न्युरोडका ब्यापारीहरुले आज काठमाडौंमा बिसाल प्रदर्शन गरेका छन् । काठमाण्डौ महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको भन्दै आज दोश्रो दिन पनि उनिहरुले आन्दोलन गरेका हुन् ।
महानगरपालिकाले मंगलबारदेखि लागु हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको घोषणा गरेको थियो । उक्त क्षेत्रका व्यवसायीहरुले महानगरले व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्पबारे छलफल नै नगरि
एकतर्फी निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग सहित आज बृहत प्रदर्शन गरेका हुन् ।
महानगरको उक्त निर्णय बिरुद्ध व्यवसायीहरुले स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला समेटेर एक संघर्ष समिति बनाएर आन्दोलन गर्दैआएका छन् ।
महानगरले सरोकारवालाहरुसँग परामर्श नगरी एकोहोरो रुपमा पार्किङ निषेधको निर्णय गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले संचारकर्मीसंग बताए । उनले पार्किङ हटाउने निर्णयबाट व्यवसायी, स्थानीय तथा सेवाग्राहीहरु अन्यायमा परेको आक्रोस पोखे ।
महानगरपालिकाले कुनै उपयुक्त विकल्प नल्याई बलजफ्ती पार्किङ निषेधित गर्नु न्युरोड क्षेत्रका व्यवसायीहरुलाई धरासायी र पलायन गराउने उदेश्यका साथ भएको आरोप लगाए ।
न्युरोडका व्यवसायीहरुले आन्दोलनका क्रममा , बालेन तेरो पाराले, दुःख पाए साराले, वैकल्पिक पार्किङको व्यवस्था गर, महानगरको एकोहोरो निर्णय खारेज गर, व्यापारीलाई गरिखान दे, महानगरको पाराले दुःख पाए साराले, एकल निर्णय खारेज गर, स्ट्याण्डबाजी बन्द गर्, व्यवसायीहरु एक हौं लगायतका नारा अंकित ब्यानर र प्लेकार्ड बोकेका थिए ।