नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई पाइलटबीच भएको कुटाकुट प्रकरणमा रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । घटनाबारे विस्तृत अनुसन्धान गर्न विमानस्थल कार्यालयका प्रमुख अशोक थापालाई निलम्बन गरेको प्राधिकरणले जनाएको छ।
कार्यालय प्रमुख थापाले झगडा भइसकेपछि पनि क्याप्टेन संजीव श्रेष्ठलाई रामेछाप(लुक्लाको उडान गर्ने अनुमति दिएका थिए। तनावमा रहेका पाइलटलाई उडान भर्ने अनुमति दिएपछि प्राधिकरणले थापालाई निलम्बन गरेको हो। यसअघि नागरिक उड्डयन प्राधिकरणले पाइलट पोशाकमै विमानस्थल परिसरमा कुटाकुट गर्ने तारा एयरका वरिष्ठ क्याप्टेन संजीव श्रेष्ठ र सन्तोष शाहलाई ग्राउण्डेड गरेको छ।
शुक्रबार बिहान उनीहरूबीच ड्युटीमा खटिएको बेला भएको कुटाकुटको घटनालाई प्राधिकरणले गम्भीररुपमा लिएको प्रवक्ता ज्ञानेन्द्र भूलले बताएका छन्। कुटाकुटको कारण भने खुलेको छैन।
कुटाकुटको घटना सार्वजनिक भएसँगै तारा एयरले उनीहरूलाई उडानमा प्रतिबन्ध लगाएको छ। तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले घटनाबारे छानबिन भइरहेको बताएका छन् । उनले कुटाकुट गर्ने दुवै क्याप्टेनलाई उडानमा प्रतिबन्ध लगाएको बताए।
व्यक्तिगत रिसिबीका कारण कुटाकुट भएको हुनसक्ने बताइएको छ। अन्नपुर्ण पोष्टमा यो खवर प्रकाशित छ ।