वर्षको मनसुन भित्रिएको छ । हिन्द महासागरमा विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वबाट सोमबार मनसुन भित्रिएको हो ।
औसतभन्दा तीन दिनअघि प्रवेश गरेको जलवाष्पयुक्त हावा बोकेको न्यूनचापीय प्रणालीको असर हाल पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र संखुवासभामा मात्र केन्द्रित छ । मनसुनी प्रणाली देशभर फैलन भने पाँच–सात दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाको आकलन छ ।
‘मनसुनी प्रणाली धेरै सक्रिय पनि छैन । प्रणाली पूर्वबाट सर्ने क्रममा रहे पनि देशभर फैलन पाँच–सात दिनसम्म लाग्न सक्छ,’ महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘मनसुन देशभर फैलन पश्चिमी वायु कमजोर हुँदै जानुपर्छ ।’ देशको पश्चिमी क्षेत्रमा अहिले पनि पश्चिमी वायु कायमै छ । मनसुनी हावा पूर्वबाट पश्चिम बहने गर्छ भने पश्चिमी वायु पश्चिमबाट पूर्व बहन्छ ।
यसपटक मनसुन चाँडै भित्रिए पनि देशभर फैलिएर झरी पर्न भने केही दिन लाग्ने देखिन्छ । गत वर्ष औसतभन्दा एक दिन ढिला ३१ जेठमा मनसुन भित्रिएर कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा सक्रिए बनेको थियो । तर, पश्चिम नेपालमा पुग्न २३ दिन लागेको थियो । नेपालमा औसतमा १३ जुनमा मनसुन भित्रिएर २ अक्टोबरमा अन्त्य हुने आँकलन गरिन्छ ।