भाद्र ११
खोटाङ हलेसी तुवाचुङ नगरपालिका ३ च्याम्टिार बाङमाका दुई बालबालिकाको सिँचाइका लागि खनिएको पोखरीमा डुबेर मृत्यु भएको छ ।
च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको छ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको सोमबार साँझ पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिनभर घरैमा खेलिरहेका दाजुबहिनी बेलुकीपख हराएपछि खोजी गर्नेक्रममा घरदेखि केही पर रहेको भुतियाखोला नजिकै बनाइएको सिँचाइपोखरीमा डुबिरहेको आवस्थामा फेला पारिएको थियो ।
बेलुका पौने छ बजे फेला पारिएका दुवैजनालाई हातखुट्टा चलाउँदै गरेको अवस्थामा सिँचाइपोखरीबाट उद्धार गरेर घरमा ल्याएको केही समयमा उनिहरुको मृत्यु भएको वडाध्यक्ष भूपालसिंह राईले बताए ।
खानेपानीको मुहानसमेत रहेको उक्त स्थानमा सिँचाइका लागि पोखरी निर्माण गरिएको थियो । हलेसीस्थित च्यास्मिटारका स्थानीय बासिन्दा हिउँदको समयमा उक्त मुहानमा खानेपानी लिन जाने गरेका थिए ।
अहिले वर्षाद्को समयमा गाउँमै अर्को मुहानमा पानी भएकाले उक्त पोखरी भएको ठाउँमा खासै मान्छे नजाने गरेको वडाध्यक्ष राईले जानकारी दिए ।
मृतक सङ्गम स्थानीय कलङ्का आधारभूत विद्यालको कक्षा–२ मा अध्ययनरत थिए । बुबा गइन्द्र रोजगारीका लागि हाल विदेशमा छन् । गइन्द्र र ममताको दुवै सन्तानको पोखरीमा डुबेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।