राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक साँसद ज्ञानबहादुर शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने बताएका छन् । आज बिहिबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा आफ्नो भनाई राख्दै उनले
ललिता निवास सरकारी जग्गालाई मन्त्रिपरिषद्को निर्णयमा नै निजि बनाइएको बताउँदै अपराधीलाई कुनै हालतमा छाड्न नहुने बताएका हुन् ।
प्रमुख सचेतक शाहीले सरकारी जग्गा ब्यक्तिलाई दिलाउन निर्णय गर्ने पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिने उदेश्यले ब्ल्याकमेलिङका लागि व्यापारीलाई पक्राउ गरिएको उनको आरोप थियो ।
यस्तो निर्णय कानुनी राज्यमा हुन नसक्ने बताउँदै सचेतक शाहीले प्रधानमन्त्रीले फागुन ६ गते संसदमा बोल्ने क्रममा बालकुमारी घटनालाई हत्याको घटना भनेर बोलेको भन्दै हत्या भएको भए गृहमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई जेल हाल्नुपर्ने कडा अभिब्यक्ति दिएको थियो ।
उनले भने फागुन ६ गते प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम अन्तर्गत बालकुमारीको घटना हत्या भएको हो भन्नुभएको छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले बालकुमारीको घटना यदी हत्या हो भने हत्यारालाई हत्या गर्न आदेश दिने गृहमन्त्री, त्यहाँ जाने भौतिक पूर्वाधारमन्त्री र गोली हान्ने प्रहरीका डिएसपीलाई पक्राउ गरेर जेल किन नहालेको ? भन्दै प्रश्न गरेका थिए ।
प्रमुख सचेतक शाहीले अहिले देश झनझन गरिब भएको र भ्रष्टाचार बढिरहेको बताउँदै प्रधानमन्त्री र मन्त्रीहरुमा कुनै भिजन नदेखिएकाले राजीनामा दिएर घर बस्न सुझाव समेत दिएका थिए ।