जाँचबुुझ आयोगले ललितपुरको बालकुमारीमा दुई जनाकाे ज्यान जानेगरि भएकाे घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित तीनजना दोषी रहेकाे निष्कर्ष निकालेको छ ।
आयोगले हिजो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला प्रदर्शन भैरहेको ठाउँमा पुग्दा मानवीय क्षतिको घटना हुन पुगेको उल्लेख छ । आयोगले प्रदर्शन र हुलहुज्जत भइहेको गलत ठाउँमा सुरक्षा व्यवस्थाको यकीन नगरि विभागीय मन्त्री पुग्नु मुख्य कमजोरी रहेको जनाएको छ ।
मन्त्री ज्वालालाई कारबाहीका लागि समेत आयोगले प्रधानमन्त्रीलाई सिफारिस गरेको छ । बालकुमारीमा घटना हुँदा फिल्ड कमान्डरको जिम्मेवारीमा रहेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ सई बोधराज दनुवार पनि दोषी भएको छानबिन आयोगले उल्लेख गरेकाे छ ।
गत पाैस १३ गते दुई युवाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनाको छानबिन गर्न मन्त्रिपरिषद् बैठकले पुस १६ गते उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो ।
घटनालगत्तै गृह मन्त्रालयले बालकुमारी घटनामा संयमता नराखेको भन्दै सातदोबाटो वृत्तका प्रमुख डीएसपी लम्साल र मन्त्री ज्वालाका पीएसओ दनुवारलाई निलम्बन गरेको थियो ।
बालकुमारीमा रहेको ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा अछामका २१ वर्षिय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन रावतको मृत्यु भएकाे थियो ।