२३ कार्तिक २०८०, बिहीबार
नवीन गुरुङ्ग संखुवासभा ।
जिल्लाको सदरमुकाम खाँदबारीमा डेंगीको रोकथाम र नियन्त्रण सम्बन्धी जनप्रतिनिधी र सरोकारवालासँग अन्तरक्रिया सम्पन्न भएको छ ।बिहिबार सदरमुकाम खाँदबारीमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिकियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकु काठमाडौ र स्वास्थ्य कार्यालय संखुवासभाको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालय, इपिडिकियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासिनीले डेंगी नियन्त्रणका लागि स्थानीय तह आफै सक्रिय लाग्नुपर्ने बताएका छन् । उनले संघीय सरकारले स्थानीय तहलाई सशक्तिकरण गर्ने, तीन तहका सरकार बीच समन्वय गर्ने र स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गर्ने लगायतका काम गर्ने भएकाले स्थानीय तह आफैले डेंगीको रोकथाम र नियन्त्रण गर्न लाग्नुपर्ने बताए ।
‘संघीय सरकारले सबै काम गर्न सक्दैन्, स्थानीय तह आफै सशक्त बनेर ‘खोज र नष्ट गर’ अभियान संचालन गर्नुपर्छ, अहिले सम्म भ्याक्सिन उपलब्ध नभएकाले अन्य विकल्प छैन् । संघीय सरकारले तालिम, क्षमता अभिबृद्धि लगायतका प्राविधिक पक्षमा सहयोग गर्न सक्छ तर तल्लो तहमा स्थानीय सरकार आफै खट्नुपर्छ ।’—डा. मरासिनीले भने ।
कार्यक्रममा इपिडिकियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. गोकर्ण दाहाल, प्रमुख कन्सल्टेन्ट फिजिसिस डा. विमल शर्मा चालिसे र जुनोटिक शाखा प्रमुख डा. हेमन्तचन्द्र ओझाले डेंगीको रोकथाम र नियन्त्रण बारे र हालसम्म देशभर डेंगीको अवस्था बारेमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा मेयरहरुको तर्फबाट मादी नगरपालिकाका प्रमुख जीवन लिङथेपले डेंगी नियन्त्रणका लागि स्थानीय सरकार लागि रहेको बताएका थिए । उनले पछिल्लो समयमा विभिन्न ठाउँहरुमा डेंगी फैलिईरहेको बताउर्दै रोकथाम र नियन्त्रणका लागि संघीय सरकारको समेत साथ र सहयोगको आवश्यकता रहेको बताएका थिए ।
त्यसैगरि उपप्रमुखहरुको तर्फबाट चिचिला गाउँपालिकाका उपाध्यक्ष मनकला राईले डेंगीलाई ख्याल—ख्याल सोच्न नहुने बताएकी छिन् । उनले डेंगीलाई हेलचेक्राई गर्दा गम्भीर समस्याहरु निम्तिने भएकाले बेलै सचेत रहन आमनागरिकहरुलाई समेत सुसुचित गर्दै ‘खोज र नष्ट गर’ अभियानमा लाग्नुपर्ने बताईन् ।
कार्यक्रममा स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले जिल्लामा डेंगीको अवस्थाका बारेमा जानकारी दिएका थिए । संखुवासभामा बुधबार सम्म एक हजार ६ सय १० जना संक्रमित रहेको तथ्याङ्क रहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । उनको अनुसार, खाँदबारी नगरपालिका १४२४ जना, मकालु गाउँपालिका २२ जना, सिलिचोङ गाउँपालिका ६ जना, सभापोखरी गाउँपालिका ५१ जना, पाँचपखन नगरपालिका ६ जना, चैनपुर नगपालिका १९ जना, मादी नगपालिका ७० जना, धर्मदेवी नगरपालिका १२ जना रहेका छन् । चिचिला र भोटखोला गाउँपालिकामा डेंगी शुन्य रहेको छ ।
कार्यक्रममा संखुवासभाका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, स्वास्थ्य संयोजक, खाँदबारी वडा नम्बर १ का वडाध्यक्ष निरन्जन श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका सभापति सरोज बज्राचार्य, संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान, पत्रकार महासंघका कार्यवहाक अध्यक्ष कृष्णराज शाक्य लगायतको उपस्थिती रहेको थियो ।