मंशिर ११
मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री एवम् नेकपा एमालेका सांसद लीलावल्लभ अधिकारीविरुद्ध अन्तत मुद्दा नचल्ने भएको छ ।
यसै प्रकरणमा जोडिएका अरू ११ जनालाई जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भए पनि अधिकारीलाई भने जिल्ला सरकारी वकिलको कार्यालयले छुटकारा दिएको हो । अधिकारीविरुद्ध मुद्दा दर्ता गर्न कुनै प्रमाण नभेटिएको सरकारी वकिल कार्यालय काठमाण्डाैले जनाएको छ ।
सङ्गठित गिरोहमार्फत अवैध तरिकाले जापान गएका अधिकारीलाई त्यहाँको अध्यागमनले विमानस्थलमै राेकेर नेपाल फिर्ता पठाएकाे थियो । मन्त्रालयको नक्कली परिचयपत्रलगायतका कागजातका आधारमा अधिकारीसहित अरू तीन जना पनि दलाललाई पैसा तिरेर जापान पुगेकाेमा फिर्ता भएका थिए ।
यो प्रकरणमा पक्राउ परेकाहरूले लाखौं रकम बुझाएको बयान दिएका छन् । अधिकारीलाई गत कात्तिक २५ गते पक्राउ गरिएकाे थियाे ।