पर्वतीय क्षेत्रमा हुनसक्ने घटना र मानवीय उद्धार, पर्वतीय दुर्घटना तथा उद्धार अभ्यास तालिम शुरु गरिएकोछ । उक्त तालिममा विदेशीसहित ८० जना सैनिक सहभागि छन् । उनिहरुलाई एक महिने संयुक्त एडभान्स तालिम दिन थालिएको जनाईएको छ । उक्त तालिममा अमेरिका, भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र दक्षिण अफ्रिकाका सेनाहरु सहभागि रहेका छन् ।
हिमाली क्षेत्रको वातावरणीय अनुभव आदानप्रदान लगायतका विषयमा नेपाली सेनाले मुस्ताङको जोमसोम र कैसाङ क्याम्प क्षेत्रमा सैन्य अभ्यास तालिम सञ्चालन गर्दै आइरहेको छ।
यसैको निरन्तरता स्वरूप भदौको दोस्रो हप्तादेखि बहुराष्ट्रिय सेना सम्मिलित सिजन ४६ को सैन्य एडभान्स अभ्यास तालिम शुरु गरिएको नेपाली सेनाका सैन्य प्रवत्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनले १० जना विदेशी सेना र ७० जना नेपाली सेना सैन्य एडभान्स तालिममा सहभागि भैरहेको बताए । सहभागि मध्ये ७ जना महिला र ७४ जना पुरुष प्रशिक्षार्थि रहेको प्रवक्ता भण्डारिको भनाई छ।
प्रशिक्षण कार्यक्रममा नेपाली सेनाको तर्फबाट ३ जना अधिकृत दर्जाका महिला र ३ जना अन्य दर्जाका महिला सेनाको सहभागी रहेको छ। पुरुषतर्फ ५ जना अधिकृत दर्जाका र ६४ जना अन्य दर्जाका सैनिकको सहभागीता रहेको प्रवक्ता भण्डारीले बताए।
असोजको पहिलो हप्ता तालिम समापन हुने छ। हिमाली क्षेत्रको पर्वतीय उद्दार तथा मानवीय सहयताका साथै पर्वतीय सैनिक अभ्यासका लागि क्षमता अभिवृद्धि गर्ने उदेश्यले नेपाली सेनाले मुस्ताङमा विभिन्न सैन्य अभ्यास संचालन गर्दैआईरहेको समेत जानकारी दिए । मुस्ताङको जोमसोम, कैसाङ क्याम्प र याकखर्कमा सैन्य अभ्यास हुने गर्दैआएको छ ।