कार्तिक ४
सहकारी ठगी र सङ्गठीत अपराधमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले छ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आज लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए । अनुसन्धान गर्न म्याद थपको अनुमतिका लागि लामिछानेलाई आज जिल्ला अदालत कास्कीका न्यायाधीश दाहालको इजलासमा पेश गरिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गर्दै अनुसन्धानका लागि छ दिनको म्याद थप गर्न माग गरेका थिए । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।