मुस्ताङमा लेक लागेर युक्रेनी र भारतीय नागरिकको मृत्यु भएको छ ।
गत असोज १९ गतेपोखराबाट १० जनाको समूहसहित मुस्ताङ भ्रमणका लागि पुगेकी युक्रेनी महिला ३५ वर्षीया अन्ना पानिनाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी दिनेश गौतमले जानकारी दिए । उनले कागबेनीमा बास बसेर असोज १९ गते पैदल हिँडेर झोङ हुँदै मुक्तिनाथ जाने क्रममा बीच बाटोमै उनलाई लेक लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गका सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश गौतमले बताए।
युक्रेनी महिला पानिनालाई श्वासप्रश्वास र टाउको दुख्ने समस्या देखिएको थियो। लेक लागेका कारण बिरामी परेकी उनलाई जोमसोम अस्पतालमा उपचार लगिएको थियो। उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक गौतमले बताए। लेक लागेर मृत्यु भएकी महिलाको शव हेलिकोप्टरमार्फत् काठमान्डौं लगिएको उनले जनाए ।
त्यसैगरी भारतको तामेलनाडुबाट मुक्तिनाथ दर्शनका लागि जाँदै गरेकी भारतीय पर्यटक वर्ष ६४ वर्षीया रेवतीको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
लेक लागेर बिरामी परेकी उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । भारतदेखि १ सय ३ जना भारतीय दर्शनार्थीको टोली संगै पोखराबाटबेनी(जोमसोम सडक हुँदै थासाङ गाउँपालिकाको लेते आइपुग्दा लेक लागेको थियो । थासाङको लेते प्राथमिक स्वास्थ्य उपचारकेन्द्रमा उपचार लैजाँदै गर्दा उनको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृतक भारतीय महिलाको शव पोस्टमार्टमका लागि एम्बुलेन्समार्फत् पोखरा लगिएको छ।अग्लो स्थानमा कुनै स्वास्थ्य परीक्षण नगरी हिड्दा यस किसिमको लेक लाग्ने समस्या आउने गरेको स्थानीयको भनाई छ । पर्याप्त समय नमिलाई छोटो समयमा हतारमा मुस्ताङ आउने प्रचलन र कुनै होल्डिङ सेन्टरमा विश्राम नगरी पर्यटकहरु आफ्नै पाराले हिँडिदिँदा यस्ता अप्रिय घटना हुनेगरेको प्रहरी निरीक्षक गौतम बताउँछन् । मुस्ताङ समुन्द्री सतहको २७ देखि ४५ सय मिटरको अग्लो उचाईमा अवस्थित छ। गएको वर्ष मुस्ताङ भ्रमणका लागि आएका १० जना आन्तरिक तथा बाह्य पर्यटको लेक लागेर मृत्यु भएको प्रहरीको रिपोर्ट छ ।