वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा उहाँको जन्म भएको हो । उहाँ लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँकाे गएराति निधन भएकाे हाे ।
दिलमाया खाती पहिलो पटक सन् १९६२ मा काठमाण्डौ आउनु भएको थियो । काठमाण्डौ आएका बेला आफन्तकोमा उहाँले गाउनु भएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गर्नु भएको थियो । त्यसपछि उहाँले नेपाली गीत गाउन थाल्नुभयो ।
अविवाहित दिलमायाले वरिष्ठ गायक गायिका एवम् संगीतकारसँग काम गर्नु भएको छ । संगीतकार एवम् गायक गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपाल, तारादेवी, मिरा राणासँग उहाँले गीत गाउनु भएको छ ।
यस्तै, युवा पुस्तामा गायक शैलेश सिंहसँग पनि उहाँले सहकार्य गर्नु भएको छ । नारायण गोपालसँग दिलमायाको भेट सन् १९७२ तिर दार्जिलिङमै भएको थियो ।
नारायण गोपालको आग्रहमा उहाँले बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा बोलको गीत गाउनुभयो । जुन अहिले पनि निकै लोकप्रिय छ । उहाँले एक सय ५० भन्दा धेरै नेपाली गीत गाउनु भएको साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो ।