विद्यालयबाट फर्किएका दाजुबहिनीको खोलाले बगाएर मृत्यु - साझाकुरा
सोमवार, असार ३२, २०८१

विद्यालयबाट फर्किएका दाजुबहिनीको खोलाले बगाएर मृत्यु


admin September 4, 2023

रूकुम पश्चिममा खोलाले बगाउँदा दाजु, बहिनीको मृत्यु भएको छ।

चौरजहारी नगरपालिका–६ घर्तीकाडाका १० वर्षीया मनोज बुढाथोकी र उनकी ६ वर्षकी बहिनी भावनालाई आइतबार अपराह्न खोलाले बगाएको हो। रतन बुढाथोकीका छोराछोरीलाई घर नजिकैको खोलाले बगाएको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले बताए।

‘हिजो अपराह्न ४ बजेतिर ठूलो हावाहुरीसहित पानी परेको थियो। स्कुलबाट निस्कँदा पनि पानी परिरहेकै थियो भन्ने सुन्नमा आएको छ,’ नगर प्रमुख पुष्पले भने, ‘दाजुबहिनी नै सोझा थिए। खहरेमा भेल आउँछ भन्ने हेक्का नै भएन। उनीहरूको शव हिजै फेला परिसकेको छ।’हावाहुरीसहित पानी पर्न थालेपछि शिक्षकले दाजु, बहिनीलाई एकछिन पर्खन भनेका थिए।

विद्यालयबाट निस्कँदा मध्यम वर्षा भए पनि खोलाको डर नभएकाले उनीहरू घर हिँडेको वडा नम्बर ६ का सदस्य विरेन्द्र बोहोराले जानकारी दिए। ‘त्यो त सानो खहरे हो। नाउला खोला भन्छन्। मानिस बगाउने गरी बाढी आएको थाहा छैन। तर, हिजो ठूलै नै पानी परेकाले उनीहरू भेलमा परेछन्,’ वडा सदस्य विरेन्द्रले भने।

झन्डै डेढ घन्टा हावाहुरीसहित पानी परेको उनले बताए। ‘खोलाले बगाएको थाहा पाउनासाथ हामीले खोजी गर्‍यौं। हिजै शव फेला पारेर पोस्टमार्टम गर्न जिल्ला अस्पताल पठाइसकिएको छ,’ वडा सदस्य विरेन्द्रले भने।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले नगरपालिकाले किरिया खर्चको प्रबन्ध गर्न लागेको प्रमुख पुष्प बादीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *