चैत्र ९
धनकुटा नगरपालिकाले समयमा लेखापरीक्षण र साधारणसभाको विवरण नबुझाउने २३ वटा सहकारीलाई खारेजी गर्ने चेतावनी दिएको छ । नगरपालिकाले मातहतका सहकारीलाई पटक पटक थप गरिएको म्यादमा बिवरण नबुझाएको भन्दै अन्तिम पटकका लागि चेतावनीसहित १५ दिने म्याद थप गरेको हो ।
उक्त अवधिभित्र पनि बिवरण नबुझाए संस्था खारेजीको प्रक्रिया अघि बढाईने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिए । धनकुटा नगरपालिकाको सहकारी ऐन २०७५ को दफा २८ को उपदफा २ मा आर्थिक बर्षको पौष ६ महिनाभित्र साधारणसभा सम्पन्न गर्नूपर्ने उल्लेख छ ।
यसैगरी, ऐनको दफा ५२ को उपदफा १ मा आर्थिक वर्ष सकिएको ३ महिनाभित्र लेखापरीक्षण तथा वार्षिक प्रतिवेदनलगायतका कागजपत्र पेश गर्नुपर्ने ब्यवस्था भएपनि निर्धारित अवधिमा विवरण नबुझाएको भन्दै २३ वटा सहकारीलाई १५ दिनभित्र विवरण नबुझाए खारेजीको अन्तिम चेतावनी दिइएको प्रमुख प्रशासकिय अधिकृत राईले बताए । यसरी विवरण नबुझाउने सहकारी संस्थामा साथी बचत तथा ऋण सहकारी, समृद्धि बचत तथा ऋण, धनकुटा नगरपालिका एभोकाडो कृषक सहकारी, मजदुर बचत तथा ऋण सहकारी, निशान उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
यस्तै, महिला सशक्तिकरण बचत तथा ऋण सहकारी, पशुपति महिला बचत तथा ऋण सहकारी, लक्ष्मी बचत तथा ऋण, हिले बचत तथा ऋण, स्वावलम्बन बहुउद्देश्यीय सहकारी, आनिना बहुउद्देश्यीय, दुग्ध उत्पादक सहकारी, पाथिभरा दुग्ध, अरुण उपभोक्ता, खेलकुद सहकारी रहेका छन भने जडिबुटी उत्पादन प्रशोधन तथा पर्यटन कृषि सहकारी, गुठी कृषि सहकारी, मार्गापोखरी कृषि सहकारी, सिंहदेवी कृषि सहकारी, नेब्ला कृषि सहकारी, हाम्रो कृषि सहकारी, पञ्चकन्या कृषि, साततले गुफा कृषि सहकारी रहेका छन् ।
यसअघि पनि नगरपालिकाले सहकारी ऐन विपरित कार्य गरेको भन्दै १७ वटा सहकारी संस्था खारेजी गरेको थियो ।
