वीरगन्जको बाल सुधारगृहबाट भागेका दुई बालकैदी भारतमा पक्राउ - साझाकुरा

वीरगन्जको बाल सुधारगृहबाट भागेका दुई बालकैदी भारतमा पक्राउ


admin October 1, 2023

वीरगन्ज ४ बिर्तामा रहेको बाल सुधार गृहबाट दुईदिन पहिले फरार भएका दुईजना बाल कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
गत शुक्रबार बिहान २ बजे सुधार गृहमा लगाइएको काँडेतार काटेर छतबाट हाम फालेर फरार भएका दुवैलाई सर्लाही र सिरहाको सीमा क्षेत्रको अलग अलग स्थानबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक दावा शेर्पा र प्रहरी नायब निरीक्षक विनोद काफ्लेको नेतृत्वमा छुट्टाछुट्टै खटिएको प्रहरी टोलीले शनिबार राति एक जनालाई र अर्कोलाई आइतबार बिहान १० बजे पक्राउ गरेको शाहले बताए ।

एक जनालाई बिहारको सीतामढीबाट र अर्कोलाई बिहारकै मधुवनीबाट नियन्त्रणमा लिएको प्रहरी श्रोतले जनाएको छ ।

बाल सुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएका थिए।

प्रहरीका अनुसार शुक्रबार बिहान सुधारगृहबाट भागेका दुबै बालकैदीहरु वीरगन्जको मुख्य भन्सार नाका शंकराचार्य गेट अगाडिबाट भारतको रक्सौलतर्फ गएको दृश्य नाकामा जडान गरिएको सिसि टिभीमा रेकर्ड भएको थियो ।

उनीहरू शुक्रबार बिहान ५ बजेको समयमा सँगै एकआपसमा कुराकानी गर्दै खाली खुट्टा हिँडेर रक्सौलतर्फ गइरहेको अवस्थामा प्रहरीको सिसिटिभी क्यामेरामा देखिएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरीको टोली उनीहरुलाई खोज्न भारत गएको थियो।

१२६ जना बालकैदी राखिएको बाल सुधार गृहमै गत भदौं २६ गते बालकैदीहरुबीच विवाद भइ झडप हुँदा ३ प्रहरी र ११ जना बालकैदी घाइते भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *