संखुवासभामा एक बर्षमा ५४ वटा मानव अधिकार उलङ्घनका घटना - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

संखुवासभामा एक बर्षमा ५४ वटा मानव अधिकार उलङ्घनका घटना


editor@sajhakura December 23, 2024

संखुवासभा,पुष ७
संखुवासभामा मानवअधिकार उलङ्घनका घटना वृद्धि भएको पाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा एक वर्षको अवधिमा ५४ वटा मानवअधिकार उलङ्घनका घटना भएको उल्लेख गरेको छ । २१ महिने बालिका बलात्कृत हुनु गम्भीर मानवअधिकार उल्लघंनका घटना भएको इन्सेकको ठहर छ ।

आज सदरमुकाम खाँदबारीमा बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ५४ वटा घटनामा ५५ जना पीडित भएको इन्सेक प्रतिनिधि भविन कार्कीले बताए । अघिल्ला वर्षहरुमा झै संखुवासभामा हत्या, बलात्कार र कुटपिट जस्ता घटनाले निरन्तरता पाएको अवस्था देखिन्छ । संखुवासभामा ९ जना बालिका सहित १२ जना बलात्कृत, घरेलु हिंसाका ३२, हत्या ४ वटा , कुटपिट गैर राज्य पक्ष ४ जना, हातपात १ जना, आत्माहत्या दुरुत्सान १ जना र कारागारमा मृत्यु भएको इन्सेकले उल्लेख गरेको छ ।

गत बर्ष ५० वटा घटनामा ५१ वटा मानवअधिकार उलङ्घनका घटना भएका थिए । पछिल्लो समय २१ महिने बालिका देखि शारिरिक अपाङ्गता भएका महिला बलात्कृत हुनु तथा मानव अधिकार हननका घटना बढ्दै गएको भन्दै इन्सेकले चिन्ता व्यक्त गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले समय सन्दर्भ ऐन कानुनी परिर्वतन हुनु पर्ने आवश्यकता भएको बताए । उनले मानव जन्मिए लगत्तै आफ्नो अधिकार लिएर आउने भएको हुदाँ आफ्नो अधिकार लिदाँ अर्कोको मानव अधिकार हनन् गर्न नुहने बताए ।

मानव अधिकार उलङ्घनका घटना कमी ल्याउन स्थानीय सरकार सरोकारवाला निकाय सबैको उल्लेखनीय भूमिका महत्वपूर्ण रहने समन्वय प्रमुख शाक्यको भनाइ छ ।
मानव अधिकार उलङ्घनका घटनामा कमी ल्याउन राज्य तथा सरोकारवाला गम्भीर भएर सबै पक्ष लाग्नु पर्ने खाँदबारी नगरपालिका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले बताइन् । मानव अधिकार उलङ्घन तथा घरेलु हिंसा रोक्न खाँदबारी नगरपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको उपमेयर श्रेष्ठले बताइन् ।

इन्सेकको प्रतिवेदनले जिल्ला भित्र भएका समग्र घटनाको चित्रण गरेको साहयक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले बताए । मानव अधिकार भित्र घरभित्र घट्ने घटना तथा घरेलु हिंसा बाट पीडित भएका बालबालिकाको संरक्षण,राहत क्षतिपूर्तिको विषयमा समेत समेटिनु जरुरी भएको साहयक प्रजिअ घिमिरेले बताए । कतिपय हिंसा बाट तेस्रो पक्ष पीडित हुने गरेको उहाँको भनाइ छ । कानुनले वर्जित गरेका घटना घटाउनुनै मानव अधिकार उलङ्घन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख रामकुमार लामिछानेले बताए ।
स्थानीय तहको न्यायीक समितीमा छलफल तथा उजुरी हुनु पर्ने भएपनि पीडितहरु उजुरीका लागि प्रहरी कार्यालयनै आउने गरेको उनको भनाइ छ ।

समीक्षा कार्यक्रममा नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले विगतको तुलनामा पछिल्लो समय समाजिक सञ्जालका कारण पनि मानव अधिकार उलङ्घन तथा हिंसाका घटना बाहिरिने गरेको बताए । शारिरिक तथा मानशिक रुपमा तन्दुरुस्त रहने अधिकारनै मानव अधिकार भएको अध्यक्ष शाक्यले बताए । इन्सेकले आगामी दिनमा सरोकारवाला निकायको सुझावलाई समेटेर लैजानु पर्ने शाक्यले बताए ।

मानव अधिकार अन्तराष्ट्रिय मापदण्ड अनुसार भन्दा पनि नेपालकै परिवेश अनुसारको ब्याख्या र माननव अधिकार हुनु पर्ने कार्यक्रमका सहभागीको भनाइ थियो । त्यस्तैगरी इन्सेकले सामाजिक,आर्थिक अधिकार पनि समावेश गर्नु पर्ने धारणा ब्यक्त गरे ।

पछिल्लो समय राज्यले नै मानव अधिकार रक्षा गर्न नसकेको भन्दै प्रभावकारी कार्यक्रम बनाउन समेत सरोकारवालाहरुले सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *