संखुवासभा फागुन १
संखुवासभामा भूमि समस्या समाधान आयोगको जिल्ला कार्यालय स्थापना भएको छ ।
बुधबार खाँदबारीस्थित नापी कार्यालयमा आयोगको कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापनासँगै नवनियुक्त भूमि समस्या समाधान आयोगका विज्ञ सदस्य नारायण कटुवाल र सदस्य रघुनाथ गिरीलाई आयोगका जिल्ला अध्यक्ष शंकरमान कडेलले सपथ खुवाएका थिए ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले भूमिहीनहरुको लागि जग्गा ब्यबस्थापन गर्न आग्रह गर्दै समितिले प्रभावकारी र देखिने खालको काम गर्नुपर्ने धारणा राखेका थिए ।
त्यसैगरि संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले आयोगले सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष खड्ग राई र नेपाली कांग्रेसका प्रतिनिधी सल्येन नेपालीले आयोगले वास्तविक भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए भने नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले वास्तविक भुमिहिन, सुकुम्बासी दलित काेहि पनि नछुट्ने गरि आयाेगले काम गर्नुपर्ने सुझाब दिएका थिए ।
कार्यक्रममा आयोगका विज्ञ सदस्य नारायण कटुवाल र सदस्य रघुनाथ गिरीले सरकारले जिम्मेवारी दिएकाले पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
त्यसैगरि कार्यक्रममा भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष शंकरमान कडेलले पहिले भन्दा अहिले सरकारले आयोगलाई शक्ति सम्पन्न बनाएको बताए । पहिले–पहिले सरकार परिवर्तनसँगै आयोग निष्कृय हुने गरेको बताउर्दै अहिले सरकार ढलेपनि आयोग निष्कृय नहुने बताए ।
एक बर्षे कार्यअवधीमा भूमिहीन र सुकुम्बासीहरुको समस्या समाधान गरेरै छोडने अध्यक्ष कडेलले प्रतिबद्धता ब्यक्त गरे ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी आयोगको जिम्मेवारी रहेको छ । जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गर्ने उद्धेश्यले आयोग गठन भएकाले काम गर्ने आयोगका पदाधिकारीहरुको भनाइ छ ।
संखुवासभामा अध्यक्ष शंकरमान कडेल, विज्ञ सदस्य नारायण कटुवाल, सदस्य रघुनाथ गिरी र अञ्जली जिमी नियुक्त भएका छन् । नेपाली कांग्रेसले अध्यक्ष र एक सदस्य सहित दुई जना र नेकपा एमालेले विज्ञ सदस्य सहित एक सदस्य गरि ४ सदस्यीय आयोगको भागबण्डा सहित राजनैतिक नियुक्त गरि जिल्ला पठाएको हो । आयोगको सदस्य सचिव नापी कार्यालय प्रमुख रहने ब्यबस्था रहेको छ ।
