संखुवासभा, असार २६
संखुवासभामा ६ महिनाको अवधिमा २४ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । सन् २०२४ को जनवरीयता भएका मानव अधिकार उल्लंघनका २४ घटनामा २४ जना पीडित रहेका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि संकलन गरेको मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनाको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रमका क्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो ।
गत पुस (जनवरी) देखि जेठ (जुन) महिनासम्म जिल्लामा भएका मानवअधिकारको अवस्थालाई प्रतिवेदनमा समावेश गरिएको इन्सेक जिल्ला प्रतिनिधि भविन कार्कीले बताए । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा ४ बालिका सहित ६ जना बलात्कृत, ४ जनाको हत्या, कुटपिट गैर राज्य पक्ष १, घरेलु हिंसाका १०, हातपात १ जना,१ जना मृत्यु र १ जना आत्महत्या दुरुसानको घटना अभिलेख गरेको छ । यो ६ महिनाको अबधिलाई हेर्ने हो भने अघिल्ला वर्षहरुमा झै सङ्खुवासभामा हत्या, बलात्कार र कुटपिट जस्ता घटनाले निरन्तरता पाएको अवस्था छ ।
२१ महिने बालिका देखि ५२ वर्षीया महिलासम्म बलात्कारबाट पीडित बनेका छन् । आफ्नै नाता गोता र छिमेकीबाट बलात्कारको शिकार भएको पाइन्छ । बलात्कार र घरेलु हिंसाका घटनाको कारक तत्वको रुपमा मादक पदार्थ सेवन पनि देखिनुले राज्यले यसमा कडाइ गर्न जरुरी छ । स्थानीय तह, प्रदेश र संघीय सरकारले विभिन्न कार्यक्रम गरेको बताइरहँदा मानव अधिकार उल्लंघनका घटनामा कमि नआउनु दुखद पक्ष हो । अझ स्थानीय तहमा रहेको न्यायिक समितिले हरेक वर्ष बजेट विनियोजन गरेपनि प्रभावकारी काम नभएको पाइएको छ । यसलाई प्रभावकारी बनाउन आवश्यक छ ।
अघिल्लो वर्षभन्दा यस वर्ष मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनामा तुलनात्मक रुपमा कम भएको इन्सेकले जनाएको छ । इन्सेकले जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनामा पीडित भएकाहरुको अभिलेखीकरण गरेर राज्यलाई खवरदारी गर्दै आएको खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले बताए ।
इन्सेकले १० वटै स्थानीय तहका न्यायीक समिति सँग सहकार्य गरेर अभिलेखीकरणलाई थप सुधार गर्नु पर्ने आवश्यकता भएको नगर प्रमुख थपलियाले बताए । इन्सेकले पालिका स्तर सम्म प्रतिनिधि राखेर न्यायीक समितिमा अभिलेख तथा घटनाहरु समेट्न आवश्यक भएको उनको भनाइ छ । इन्सेकले आगामी दिनमा मानव अधिकारकर्मी,नागरिक समाज र अन्य पक्षलाई राखेर थप बहस र छलफल राख्नुपर्ने आवश्यकता भएको नगर प्रमुख थपलियाले औँल्याए । राज्यले बनाएको नियम कानुन पालना गर्दा अरुलाई असर नहुने गरी प्रयोग गर्नु पर्ने खाँदबारी नगरपालिका उपप्रमुख तथा न्यायीक समितिकी संयोजक महेश्वरा श्रेष्ठ बज्राचार्यले बताइन् ।
विभिन्न परिस्थितीका आवजुत पनि इन्सेकले जिल्लाको मानव अधिकारको क्षेत्रमा खवरदारी र अभिलेखिकरण गर्ने गरेको उपप्रमुख श्रेष्ठले बताइन् । मानव अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था मध्ये इन्सेकले जिल्लाको मानव अधिकार उल्लङ्घनको अवस्था अभिलेखिकरण गर्ने गरेको प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले बताए ।
संखुवासभामा कानुन कार्यनोयन राम्रो भएका काराण सबै पक्षलाई कानुनी दायरामा ल्याएको र कानुनी उपचार समेत पाएका कारण इन्सेकको बर्ष पुस्तकमा नमुना जिल्लाको रुपमा अभिलेख हुनु पर्ने प्रजिअ खड्काले बताए । अघिल्लो बर्षको तुलनामा मानव अधिकार उल्लङ्घनका घटना समेत कमी भएको उनको भनाइ छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी घनश्याम श्रेष्ठका अनुसार पछिल्लो समय उल्लंघन तथा ज्यादतिका घटनामा कमी आएको बताए ।
इन्सेकले जिल्लामा छुटेका घटनालाई थिप मापदण्ड बनाएर समेट्न जरुरी भएको डिएसपी श्रेष्ठले बताए । मानव अधिकारको आवधिक र अर्ध बार्षिक र बार्षिक कार्यक्रमले जिल्लामा राम्रो सन्देश जाने डिएसपी श्रेष्ठले बताए । इन्सेकको समग्र प्रयास सराहनीय भएको डिएसपीको भनाइ थियो । कार्यक्रममा खाँदबारी नगरपालिका १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठले कुन पालिका कति घटना घटे भन्ने स्थानीय तह खुल्ने तंथ्याङ्क आवश्यक भएको बताए ।
कार्यक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीले मानव अधिकार संरक्षण सम्वद्धनका लागि इन्सेकको महत्वपूर्ण भूमिका भएको बताए । अध्यक्ष गिरीले अर्ध बार्षिक समिक्षामा आएको सहभागीको तर्फबाट आएको सल्लाह सुझाव जिल्ला प्रतिनिधिले प्रदेश र केन्द्र सम्म पुर्याउनु जरुरी भएको बताए ।
कार्यक्रमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज क्रियाशिल पत्रकार तथा मानव अधिकारसँग सरोकार संघ संस्थाको उपस्थिती रहेकको थियो ।