असाेज ९
गण्डकी- कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका उक्त सहकारीका अध्यक्ष एवं बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली १६ महिनादेखि फरार हुनुहुन्छ ।
सहकारीका बचतकर्ताको करिब रु दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उहाँ सपरिवार सम्पर्कविहीन हुनुभएको थियो । प्रहरीले नगरप्रमुख नेपालीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी गरेपनि उहाँ अझै पक्राउ पर्न सक्नुभएको छैन ।
सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए ।
जिल्ला अदालत, बागलुङमा उक्त सहकारीका १३ जना सञ्चालकविरुद्ध मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।