सहकारी ठगीको करोडौं रकम फिल्ममा डुब्यो - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

सहकारी ठगीको करोडौं रकम फिल्ममा डुब्यो


editor@sajhakura September 26, 2024

२०८१ असोज १०

सहकारी ठगी प्रकरणमा फिल्म क्षेत्र समेत तानिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानविन प्रतिवेदन २०८१ मा सहकारी ठगीको रकम चलचित्र क्षेत्रमा समेत प्रयोग भएको भेटिएको उल्लेख छ ।

काठमाडौंको कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष दिनेश दर्शनधारीले ठूलो लागतमा सिनेमा र म्युजिक भिडियो बनाएको र त्यसमा सहकारीको ठूलो लगानी फसेको जनाइएको छ ।
कीर्तिपुरका स्थानीय दर्शनधारीले नेपाल प्रहरीका पूर्व एआईजी छविराज जोशीका छोरा रोचक जोशी, अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ तथा करिश्मा मानन्धरकी छोरी कविता मानन्धरलाई म्युजिक भिडियो र सिनेमामा डेब्यु गराउने भनेर ठूलो लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
दर्शनधारीका भाइ योगेन्द्र दर्शनधारीले निर्मल बुद्धभूमि बचत तथा कृषि फार्म नै चलाएको समेत प्रतिवेदनमा उल्लेख छ ।
सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानविन विशेष समिति गठन गरेको थियो । समितिले उक्त सहकारीका अध्यक्ष दर्शनधारीलाई बोलाएर सोधपुछ समेत गरेको थियो ।
दर्शनधारीले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ २०७७ सालको माघे संक्रान्तिमा रिलिज भएको थियो । यो फिल्मबाट शिव श्रेष्ठका छोरा शक्ति र करिश्माकी छोरी कविताले डेब्यु गरेका थिए ।
दीपेश सापकोटा निर्देशित फिल्ममा शक्ति र कवितासँगै शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, सम्यक दर्शनधारी, आङतेम्बा शेर्पा, मिथिला शर्मा, विष्णु चेम्जोङ लगायतले अभिनय गरेका थिए ।
‘एउटा यस्तो प्रेम कहानी’ फिल्ममा दर्शनधारीले पाँच करोड लगानी गरेको तर फिल्मले एक लाख रुपैयाँ पनि नकमाएको फिल्मका वितरक गोपाल कायस्थले बताए । ‘एक लाख पनि आएन । पाँच करोड बजेट भन्थ्यो । मैले पाँच प्रतिशत कमिसनमा फिल्म लिएको हुँ’ उनले भने, ‘मेरै कमिसन पनि उठेन ।’
फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को पत्रकार सम्मेलनमा दिनेश दर्शनधारी, अभिनेता शिव श्रेष्ठ, अभिनेत्री सुष्मा कार्की लगायत फिल्मको लगानी डुब्दा समेत दर्शनधारीले आफूलाई घाटा नभएको प्रतिक्रिया दिएको कायस्थले बताए ।
दर्शनधारीले राजेश हमाल अभिनित फिल्म ‘बागमती’मा समेत ३ करोड डुबाएको वितरक कायस्थले बताए । ‘बरु बागमतीले ५–६ लाख भए पनि कमाएको थियो’ उनले भने । छोराकै लागि भनेर दर्शनधारीले २०–२२ लाख खर्च गरेर म्युजिक भिडियो बनाएको समेत उनले जनाए ।

‘लामो समयदेखि मसँग सम्पर्क छैन’ प्रदर्शकको छाता संस्था चलचित्र संघका प्रथम उपाध्यक्ष समेत रहेका कायस्थले भने । प्रतिवेदन अनुसार दर्शन सहकारीको कुल पूँजी तथा दायित्व डेढ अर्बभन्दा बढी छ । उक्त रकम अपचलन गरेर सञ्चालक सम्पर्कभन्दा बाहिर गएपछि बचतकर्ता सडकमा उत्रिएका थिए । अध्यक्ष दर्शनधारीले आफ्नो हस्ताक्षरमा एक विज्ञप्ति जारी गरी संस्था अनिश्चितकालका लागि बन्द भएको भन्दै सञ्चालक सम्पर्कविहीन भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *