साउदी अरबलाई ३ सय १ रनको फराकिलो अन्तरले हराउँदै नेपाल १९ वर्ष मुनिको एसिसी प्रिमियर कपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।
मलेसियामा भएको प्रतियोगितामा नेपालले दिएको ३ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९ ओभर १ बलमा ४६ रन बनाउँदै
अलआउट भएको थियो । साउदीका वरुण सरावनन मुदाईअरले ११ रन जोडेका थिए ।
उनी बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
आज भएको खेलमा नेपालका दिपेश कँडेलले ६ विकेट लिएका थिए । उनले ९ ओभर १ बलमा १८ रन दिएर ६ विकेट लिए । त्यसैगरि आकास चन्दले २ र सुवास भण्डारीले एक विकेट लिए । यसअघि मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन जोडेको थिए ।
नेपालका अर्जुन कुमालले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय कौशल देखाए भने आकाश त्रिपाठीले ८९ दीपक बोहराले २९, बिशाल बिक्रम केसीले २४, दिपेश कडेल र दिपकप्रसाद डुम्रेले १४–१४ रन र मिलन बोहराले ९ रन जोडेका थिए ।
साउदी अरबका मोहम्मद अहमद र अहमद राजाले दुई –दुई विकेट लिए भने अब्दुल्लाह शिराज, जुहैर मोहम्मद र शजिव मुजिबुर रहमानले एक एक विकेट लिएका थिए । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको नेपालले दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिम १९ वर्ष मुनिको एसिया कपमा छनोट हुने जनाईएको छ ।