संखुवासभा कार्तिक २९
पछिल्लो समय संखुवासभामा पनि सामाजिक संजालको प्रयोगबाट हुने ठगि धन्दामा पिडित हुनेहरुको संख्या बढ्दै गएको छ ।
सामाजिक संजाल फेसबुक, ह्वाट्स एप्स, ईस्टग्राम, लगायतका सामाजिक संजाल मार्फत ठगिनेको संख्या दर्जनमा मात्र नभएर सैयौंको संख्यामा रहेको पिडितहरुको भनाई छ ।
ह्याकरहरुले अरुको फेसबुक, फेसबुक पेज, जि मेल लगायत अन्य संजालहरु ह्याक गरि आफ्ना चिनजान र साथीभाईहरुलाई म्यासेज पठाई पैसा माग्ने गरेको र आफ्नै चिनजानको साथी हो भन्ने सम्झेर पैसा ट्रान्सफर गर्दा आफु ठगिएको नाम नखुलाउने शर्तमा खाँदबारी १ का एक ब्यवसायीले बताए ।
उनले आफुजस्तै सामाजिक संजालबाट ठगिनेको संख्या उल्लेख्य रहेको अनुमान गरेका छन् ।
नजिकका चिनजानको साथीको फेसबुकबाट बारम्बार केहि रकम सहयोगका लागि अनुरोध भएकाले आफुले बिश्वास गरेर रकम पठाउँदा ठगिनुपरेको उनले बताए ।
पछिल्लो समय अनलाईन ठगिका घटनाहरु संखुवासभामा समेत उल्लेख्य रुपमा बढ्न थालेकाले सामाजिक संजालका प्रयोगकर्ताहरु अत्यन्तै सचेत रहन जिल्ला प्रहरी कार्यालय संखुवासभाले अनुरोध गरेको छ ।
कसैले आफ्नो बैंक एकाउण्टको ओटिपी माग्ने वा अन्य कुनै ब्यक्तिगत जानकारी मागेमा नदिन समेत प्रहरीले अनुरोध गरेको छ ।
अन्जान ब्यक्तिको फ्रेण्ड रिक्वेष्ट, नजिककै मान्छेको फेसबुक म्यासेन्जर, ह्वाट्स एप्स लगायतका सामाजिक संजालको बिश्वास नगर्न र यदि पैसा वा अन्य कुनै कारोबार गर्नपरे सम्वन्धीत मान्छेसंग प्रत्यक्ष सम्पर्क गरेर मात्र कारोवार गर्न, अनुरोध गरिएको छ ।
यस किसिमका ठगिबाट आफु र आफ्ना शुभचिन्तकहरुलाई जोगाउन ब्यापक रुपमा सचेतना फैलाउन समेत प्रहरीले अनुरोध गरेको छ