सिरियामा एक सैनिक अधिकृतको दीक्षान्त समारोह चलिरहेको स्थलमा ड्रोन आक्रमण हुँदा एक सय बढिको मृत्यु भएको छ भने आक्रमणमा परि अन्य २ सय ४० बढि घाईते भएका छन् ।
होम्सस्थीत सैन्य कलेजमा आयोजना गरिएको दीक्षान्तसमारोहमा अन्धाधुन्द आक्रमण गरिँदा ठुलो मानवीय तथा भौतिक क्षति पुगेको त्यहाँका स्वास्थ्यमन्त्रीलाई उद्धृत गरी अलजजिराले प्रसारण गरेको छ । स्वास्थ्यमन्त्री हसन अल–घाबासले सैयौंको संख्यामा घाइते भएकाहरुको अवस्था निक्कै गम्भीर रहेको बताएका छन् ।
समारोहमा सिरियाका रक्षामन्त्री सहभागी भएर फर्किएलगत्तै ड्रोन आक्रमण गरिएको थियो । यो घटनालाई सिरियाली सैनिकमाथिको अहिलेसम्मकै घातक आक्रमणका रुपमा लिईएको छ । दीक्षान्त समारोहमा सैन्य अधिकृतसहित उनीहरुका परिवार र आफन्त सहभागी रहेका थिए । पछिल्ला १२ वर्षदेखि सिरिया चरम गृहयुद्धको चपेटामा फसिरहेको छ ।
आक्रमण कसले कुन उदेश्यले गरेको हो भन्ने कुरा नखुलेको र कसैले पनि आक्रमणको जिम्मा नलिएकाले घटनाका बारेमा सुक्ष्म अध्ययन भैरहेको बताईएको छ । सिरियामा भएको मानवीय तथा भौतिक क्षतिप्रति संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दुःख व्यक्त गर्दै घटनाको निन्दा गरेका छन् ।