यस वर्षको ‘हरिलाल राई स्मृति सम्मान’ बाट नेपाल सरकारका अधिकृत प्रेमकुमार राई र खरिदार राजकुमारी राई सम्मानित हुने भएका छन् ।
सोमबार बसेको किरात राई कर्मचारी मञ्च, केन्द्रीय सचिवालयको बैठकले प्रेमकुमार र राजकुमारीलाई ‘हरिलाल राई स्मृति सम्मान’ बाट सम्मानित गर्ने निर्णय गरेको नेपाल सरकारका उपसचिवसमेत रहेका मञ्चका सचिव योग्यप्रसाद राईले जानकारी दिए ।
प्रेमकुमार नेपाल टेलिकम, संखुवासभामा कार्यरत छन् भने राजकुमारी मालपोत कार्यालय, पाँचथरमा कार्यरत छिन् । उनीहरू नगद रू. १५ हजार र सम्मानपत्रसहित सम्मानित हुनेछन् । मञ्चले दुर्गम क्षेत्रमा लामो समय सेवा गरेका तथा किरात समुदायको उत्थानमा सार्वजनिक क्षेत्रबाट गरेका योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानित गर्दै आएको सचिव राईले बताए ।
याे सम्मान नेपाल सरकारका नायब सुब्बा स्व. हरिलाल राईको नाममा खोटाङ जिल्ला, दिक्तेल रुपाकोट मझुवागढी ४ मा स्थायी घर भएका उदय बहादुर राई र चुनामाया राईले किरात राई कर्मचारी मञ्चको मातहतमा सञ्चालन हुनेगरी २०७८ वैशाख ३ गते स्थापना गरेका थिए । त्यसबेला उनीहरूले कोषमा ३ लाख रुपैयाँ राखेका थिए भने थप १ लाख थप्ने प्रतिबद्धता गरेका छन् ।