संखुवासभा फागुन १५
मकालु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा मकालु गाउँपालिकाको आयोजनामा बुधबारबाट मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक साँस्कृतिक सम्मेलन मकालुको नुम बजारमा शुरु भएको छ ।
फागुन १४ देखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा दक्षिण एसियाका विभिन्न मुलुकबाट साहित्यकार र कलाकारहरुको उपस्थिति रहेको आयोजक मकालु गाउँपालिकाका अध्यक्ष वाङ्दी शेर्पाले बताए । उनले मकालु गाउँपालिका भित्रका साँस्कृतिक र धार्मिक तथा पर्यटकिय क्षेत्रको बारेमा साहित्य र संस्कृति मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्र सम्म प्रचारप्रसार गर्ने उदेश्यले महोत्सव तथा दक्षिण एसियाली साहित्यिक सम्मलन आयोजना गरिएको जानकारी दिए ।
मकालु गाउँपालिका वडा नं २ का वडाध्यक्ष छोपाल शेर्पाले मकालु महोत्सवले यस क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरे । त्यसैगरि दक्षिण एसियाली साहित्यिक साँस्कृतिक संगठनका अध्यक्ष ताराबहादुर बुढाथोकीले मकालु महोत्सवले मकालुको मात्र नभई संखुवासभाको पर्यटन, प्रवर्धन साथै साहित्यिक साँस्कृतिक क्षेत्रमा ऐतिहाँसिक टेवा पुग्ने धारणा राख्दै यस महोत्सवबाट संखुवासभामा लुकेर रहेको धेरै कुराहरु बिश्वसमुदाय सम्म पुग्ने अपेक्षा गरे ।
मकालु महोत्सवको अवसरमा २ लाख ५० हजार राशिको अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताकाे पनि आयोजना गरिएको छ भने मकालु गाउँपालिका भित्रका ६ वटै वडाका वडागत स्टलहरु राखिएको छ । मकालु गाउँपालिका भित्रका वडाहरुमा उत्पादन भएका कृषिजन्य उत्पादन तथा हस्तकला सम्बन्धी सामाग्रीहरुको छुट्टा छुट्टै स्टलहरु ब्यवस्थापन गरिएको छ । त्यसैगरि वडागत स्टलहरुमा वडा नं. १ बाट भिर माहुरीको मह, सिमल तरुल, मकै, भटमास, आलु आदिको परिकार सहित स्टल राखिएको छ भने वडा नं. २ बाट मुर्ति, हस्तकलाका सामग्री, अलैँची, अल्लो उत्पादित सामाग्री, यार्सागुम्बा र अन्य जडिबुटिजन्य बस्तुको स्टल राखिएका छन् । त्यसैगरि वडा नं। ३ बाट राडीपाखी, सेतो चामल, दाल जस्ता कृषिजन्य सामाग्रीहरुको स्टल रहेको छ । वडा नं. ४ बाट छुर्पी, लप्सीको अचार, खुकुरी, चौरीको पुच्छर ऊन आदिको स्टल ब्यवस्थापन गरिएको छ भने वडा नं. ५ बाट राडिपाखी, ताकमारु स्थानीय रातो चामल , अल्लो र ऊनको स्टल राख्नेगरि ब्यवस्थापन गरिएको छ । वडा नं. ६ बाट सिमल तरुल, फुलतरुल, फलफुल र स्थानीय तरकारीका स्टलहरु राखिएका छन् ।
फागुन १४ देखि शुरु भै फागुन १७ गते सम्म संचालन हुने महोत्सवको अवसरमा मकालु गाउँपालिकाको समग्र बिकासका लागि विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई सम्मान, स्थानीय झाँकी प्रदर्शन, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको लोकदोहोरी गायक राजु परियार, आशा विसी, गिता योञ्जन, फुलन्देकी आमा उमेश राई लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साँगितक साँस्कृति प्रस्तुती रहने मकालु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईन्द्रबहादुर दर्जीले बताए ।