संखुवासभा मकालु २ नं वडा, पत्रकार महासंघ र प्रेस चाैतारीद्वारा मकालु हिमाल आराेहि किपा लामु शेर्पालाई खाँदबारीमा सम्मान गरिएकाे छ ।
उनले विश्वको पाँचौ अग्लो मकालु हिमाल(८,४८५ मि.) को गत २०८१ चैत्र २८ गते विहान १० बजेर १० मिनेटमा सफल आराेहण गरेकि हुन् ।
मंगलबार सदरमुकाम खाँदबारीमा एक कार्यक्रमकाे आयाेजना गरि प्रमुख अतिथी जिसस प्रमुख सुमन शाक्य, प्रजिअ दिब्यराज पोख्रेल र २ नंं.वडाध्यक्ष छोपाल शेर्पा लगायत राजनितिक दल र संचारकर्मिहरुले खादा माला सहित दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मानित गरेका हुन् ।
जिल्लाको मकालु गाउँपालिका वडा नं.२ स्थित नुर्बु गाउँमा जन्मिएकी शेर्पाले २८ बर्षको उमेरमा विश्वको पाँचौ अग्लो मकालु हिमाल सफल आरोहण गरेकी हुन् ।
‘सानै देखी दुःखसँग लड्दै चौरी गोठमा हुर्केकी बहिनीले मकालु हिमाल आरोहण गर्ने सबैभन्दा कान्छो उमेरको महिला बनेकोमा गर्व महसुस भएको मकालु २ का वडाध्यक्ष छाेपाल शेर्पाले बताए ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले हिमाल आरोहण एउटी महिलाको लागि चानचुने बिषय नभएको बताए । उनले यस्ता साहसी महिलालाई राज्यले समेत हौसला र सम्मान गर्नुपर्ने धारणा राख्दै आवश्यक सहयाेगकाे लागि सम्बन्धित निकायहरुमा शिफारिस गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी दिब्यराज पोख्रेलले नेपालकाे पर्यटन प्रवर्धनका लागि आराेहि किपा लामु शेर्पाले गरेकाे सफल आराेहणले ठुलाे अर्थ राख्ने बताए । कार्यक्रममा खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले आधा आकाश ढाक्ने महिलाहरु चुल्होचौकामा मात्रै सिमित नभएर शारिरिक रुपमा समेत अब्बल भएकाे धारणा राखे ।
त्यसैगरि राजनैतिक दलका तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष खड्ग राईले कोशी प्रदेश सरकारले घाेषणा गरेकाे ‘कोशी पर्यटन बर्ष–२०८२’ लाई शेर्पाकाे सफल आराेहणले ठुलाे टेवा पुगेकाे बताए । ।त्यसैगरि नेपाली कांग्रेसका क्षेत्रिय सभापति दिपेन्द्रमान शाक्य र रास्वपाका जिल्ला संयोजक भक्तनारायण श्रेष्ठले महिलाहरु पुरुष भन्दा कम नरहेको उल्लेख गरेका थिए । कार्यक्रममा सह आयाेजक नेपाल पत्रकार महासंघ अध्यक्ष कृष्णराज शाक्य र प्रेस चौतारीका अध्यक्ष जनक चापागाईले किपा लामु जस्ता साहसि आराेहिहरुले संखुवासभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाईरहेकाले उनिहरुलाई थप प्राेत्साहनका लागि राज्यले विशेष याेजना अघि सार्नपर्ने सुझाएका थिए ।
पत्रकार महासंघका सचिब नवीन गुरुङले संचालन गरेकाे कार्यकमलाई सम्बाेधन गर्दै आराेही किपा लामु शेर्पाले याे सम्मानका लागि मकालु २ नं वडा, नेपाल पत्रकार महासंघ र प्रेस चाैतारी संखुवासभालाई धन्यबाद ज्ञापन गरिन् । उनले याे सम्मानले आफुलाई थप हाैसला दिएकाे भन्दै खुशी ब्यक्त गरेकि थिईन् ।
