विमानस्थलबाट दुई हजार आठ सय ३१ केजी सुन तस्करी गर्ने चिनियाँ नेतृत्वको समूहका थप नौजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दोस्रो चरणमा अनुसन्धान गरी यसमा संलग्न थप व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
दुई साताअघि नै उनीहरूलाई पक्राउ गरे पनि गिरोहका थप व्यक्ति खोजी गर्न सिआइबीले उनीहरूको नाम गोप्य राखेको छ । पक्राउ पर्नेमा काभ्रेका थर्कमान (कान्छा) लामासहितका व्यक्ति छन् । लामा चिनियाँको निर्देशनमा काठमाडौंमा सुन ओसारपसार गर्ने व्यक्ति हुन् ।
पहिलो चरणको अनुसन्धानमा तीन सय ६२ केजी सुन तस्करी भएको सिआइबीको निष्कर्ष थियो । थप अनुसन्धान गर्दा दुई हजार आठ सय ३१ केजी सुन सो समूहले नेपालमा तस्करी गरेको प्रमाण र आधार भेटिएको सिआइबी स्रोत बताउँछ ।
हाल नौजनालाई थुनामा राखी सुन तस्करी प्रकरणमा अनुसन्धान भइरहेको सिआइबीका निर्देशक एआइजी श्यामलाल ज्ञवालीले बताए ।