रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न परिवारले सरकारसँग आग्रह गरेका छन् । हिजो काठमाण्डौमा पत्रकार सम्मेलन गरेर परिवारका सदस्यहरूले परिबन्धले रुसी सेनामा भर्ती भएका उनीहरूको उद्धार गरी सकुशल स्वदेश फिर्ताको वातावरण बनाइदिन माग गरेका हुन् ।
कार्यक्रममा टिना घिमिरेले आफ्ना पति पदम घिमिरे केही महिनादेखि सम्पर्कविहीन पारिएकाले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारसमक्ष आग्रह गर्नुभयो । उदयपुरका स्थायी बासिन्दा उहाँ नेपाली सेनाबाट अवकाश भएपछि करिब नौ लाख रुपैयाँ खर्चेर रुस जानुभएको परिवारले जनाएको छ ।
केही आफन्तहरू बेपत्ता भएको र केहीको अवस्था नाजुक रहेको भन्दै इलामकी सुमी चाम्लिङले भाइ राजकुमार मुखियाको खोजी गर्न सरकारसमक्ष आग्रह गर्नुभयो । उहाँले आफ्नो गाउँका विक्रम भुजेल र राजेन्द्र तामाङ पनि रुसी सेनामा भर्ती भएको र अहिले सम्पर्कमा नरहेकामा चिन्ता व्यक्त गर्नुभयो ।