बैसाख २४
पाकिस्तानसंगको तिक्तता पछि भारतले शुरु गरेको पाकिस्तानविरुद्धको ‘अपरेशन सिन्दूर’ लाई चीनले अत्यन्तै खेदजनक कदम भएको टिप्पणी गरेको छ ।
पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट पक्ष बिपक्षमा प्रतिक्रियाहरु आउन थालेका छन् ।
यहीक्रममा बुधबार चीनको विदेश मन्त्रालयले पाकिस्तानविरुद्ध भारतले चलाएको सैन्य कारबाहीलाई ‘खेदजनक’ भएको टिप्पणी गरेको हो । दक्षिण एसियाली प्रतिद्वन्द्वी मुलुकहरूबीच बढ्दो तनावबारे सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता माओ निङले चीन यो परिस्थितिप्रति ‘चिन्तित’ रहेको अभिब्यक्ति दिएका छन्।
उनले भारत र पाकिस्तान दुवैलाई ‘संयमता अपनाउन आग्रह समेत गरेका छन् । उनले भारत र पाकिस्तान एक(अर्काका छिमेकी हुन् र सधैं रहिरहने पनि उल्लेख गरेका छन् । चीन सबै प्रकारका आतंकवादको विरोध गर्छ। हामी दुवै पक्षलाई शान्ति र स्थायित्वको बृहत्तर हितका लागि सोच्न, शान्त रहन, र थप संयमता अपनाउन आग्रह गर्दछौं उनले भनेका छन् ।