असार १९
अत्याधिक गर्मीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ । फ्रान्समा जुन महिनाको अन्तिम सातामा दुई हजार बढीको गर्मीका कारण मृत्यु भएको त्यहाँका सरकारी संचारमाध्यमहरुले जनाएका छन् । उनिहरुले त्यहाँ अहिले सम्म दुई हजार पच्चिस जनाले ज्यान गुमाईसकेको उल्लेख गरेका छन् । गर्मीका कारण ज्यान गुमाउनेको संख्यामा अझै उल्लेख्य बृद्धि हुने आंकलन गरिएको छ । त्यहाँका सुरक्षा निकाय र सामाजिक संघसंस्थाहरुले सार्वजनीक अपिल गर्दै अत्यावश्यक काम नगरि बाहिर ननिस्कन सार्वजनीक रुपमा उर्दी जारी गरेका छन् ।
गर्मीका कारण विशेषगरी ४५ वर्षभन्दा माथिका व्यक्तिहरू बढी प्रभावित भएका छन्। स्वास्थ्यमन्त्री स्टेफनी रिस्टले गर्मीका कारण मृत्युमा स्पष्ट वृद्धि देखिएको बताइन्।
जुन २४ मा फ्रान्सले इतिहासकै सबैभन्दा तातो दिनमध्ये एक अनुभव गरेको थियो। पेरिसमा तापक्रम करिब ४१ डिग्री सेल्सियस पुगेको थियो भने देशको आधाभन्दा बढी क्षेत्रमा उच्च सतर्कता जारी गरिएको थियो।
गर्मीका कारण डुबेर मृत्यु हुने घटनासमेत बढेका छन्। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार जुन १८ यता ७२ जनाको डुबेर मृत्यु भएको छ।
छिमेकी देशहरू पनि गर्मीबाट प्रभावित भएका छन्। बेल्जियममा गर्मीका कारण १,२२२ जनाको मृत्यु रेकर्ड गरिएको छ। जसमा धेरैजसो ८५ वर्ष वा सोभन्दा माथिका व्यक्ति रहेका छन्।
नेदरल्याण्ड्समा पनि गत सातामात्रै करिब ४८० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
मौसमविद्हरूका अनुसार फ्रान्स, स्पेन, पोर्चुगल र बेलायतका केही क्षेत्रमा आगामी दिनमा फेरि तापक्रम बढ्ने सम्भावना छ। फ्रान्सको दक्षिणी क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।
अत्यधिक गर्मीका कारण डढेलोको जोखिम पनि बढेको छ। फ्रान्सको दक्षिणी क्षेत्रमा जंगलमा आगलागीको उच्च जोखिम भन्दै सतर्कता अपनाउन अपिल गरिएको छ ।