संखुवासभा,असार १०
लागु औषध दुरुपयोग तथा ओसारप्रसार बिरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा संखुवासभाको खाँदबारीमा परिसम्बाद कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको संयोजनमा संखुवासभाको खाँदबारीमा परिसम्बाद कार्यक्रमको आयोजना गरिएको हो ।
बढ्दो लागु औषधको दुरुपयोग र ओसारपसार बिरुद्ध जनस्तरसम्म जनचेतना पुर्याउन परिसम्बाद कार्यक्रमको आयोजना पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले बताए ।
महासंघका सचिब नवीन गुरुङले संचालन गरेको परिसम्बाद कार्यक्रममा संखुवासभाका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, डिएसपी दक्ष कुमार बस्नेत, बरुण बहुमुखी क्याम्पस खाँदबारीका प्रमुख चीत्ररेखा अधिकारी, तुम्लिङटार स्पोर्टिङ्ग क्लवका देबेन्द्र घिमिरे र बरुण क्याम्पस स्वबियू सभापति हिमाल गुरुङ सहभागी भएका थिए ।
परिसम्बाद कार्यक्रममा संखुवासभा जिल्लामा लागू पदार्थ दुब्र्यसनको वर्तमान अवस्था, लागू औषध ओसार प्रसार तथा प्रयोग र बिक्रिबितरण न्युनिकरणका लागि चाल्नुपर्ने कदम , यसबाट मानव स्वास्थ्य र सामाजिक रुपमा पर्ने नकारात्मक असर लगायतका बिषयमा बिचार विमर्श गरिएको थियो । जिल्लाका सबै रेडियो पत्रपत्रिका अनलाईनबाट समेत प्रकाशन÷प्रसारण गरिएको परिसम्बाद कार्यक्रम अत्यन्तै प्रभावकारी र जानकारीमुलक रहेको थियो ।
कर्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले बढिजसो १६ देखि ३० बर्षको उमेरका ब्यक्तिहरु लागु औषधको सेवन अर्थात प्रयोगकर्ता र कारोबारी समेत हुनेगरेको पाईएको धारणा राखेका थिए । उनले १५ बर्ष मुनिकाबालबालिकाहरु समेत लागुऔषध प्रयोगकर्ताका रुपमा रहेको पाईएकाले उनिहरुलाई कुलतबाट बचाउन अभिभावक, आफन्त, छरछिमेकको ठुलो भुमिका रहने बताएका थिए । जिल्लामा लागुऔषधको ओसारपसार, प्रयोग र कारोबारको अवस्थाका बारेमा जानकारी गराउँदै संखुवासभाका प्रहरी प्रमुख डिएसपी दक्ष कुमार बस्नेतले गत बर्षको तुलनामा लागुऔषध प्रयोग र कारोबार बढ्दैगएको आँकडा प्रस्तुत गर्दै प्रहरीले मात्रै नभई अभिभावक र सरोकारवालाहरुको सक्रियताले मात्रै लागुऔषध दुब्र्यसन, नियन्त्रण र न्युनिकरण गर्न सकिने बताएका थिए । जिल्लाका प्रभावकारी संचारमाध्यमहरुबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त परिसम्बाद कार्यक्रम नेपाल पत्रकार महासंघ संखुवासभाको कार्यालय हलमा आयोजना गरिएको थियो । करिव ५० मिनेटको परिसम्बाद कार्यक्रममा अर्का बक्क्ता तुम्लिङटार स्पोटिैङ्ग क्लवका अध्यक्ष देवेन्द्र घिमिरेले समाज रुपान्तरणका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने युवाहरुलाई कुलतबाट जोगाउन बिभिन्न स्वरोजगारमुलक कार्यक्रमहरु ल्याउन आवश्यक रहेकोमा जोड दिएका थिए । कानुनी हिसावले उनिहरुलाई कार्वाहिको दायरामा ल्याउनुभन्दा पनि उनिहरुलाई लागुऔषधको कुलतबाट हुने हानीनोक्सानी, यसबाट ब्यक्तिको स्वास्थ्य, परिवारलाई पर्ने आर्थिक भार र यसबाट समाजलाई पर्ने नकारात्मक असरका बारेमा जनचेतना बढाउन आवश्यक रहेको सुझाव दिएका थिए । कार्यक्रममा बरुण बहुमुखी क्याम्पसका प्रमुख चित्ररेखा अधिकारीले युवा उमेरमा बढिजसो बिद्यार्थीहरु कुलतमा फस्ने गरेको पाईएकाले क्याम्पसका तर्फबाट लागुऔषध दुरुपयोगको न्युनिकरणका लागि आफुले सचेतनामुलक कार्यक्रम हरेक कक्षामा संचालन गर्ने प्रतिवद्धता जनाए ।
राउण्ड सेपमा बसेर गरिएको परिसम्बाद कार्यक्रममा बरुण बहुमुखी क्याम्पस खाँदबारीका स्वबियू सभापति हिमाल गुरुङ्गले बिद्यार्थीहरु बढि लागुऔषध दुब्र्यसनमा फस्ने गरेको भन्दै प्रयोगकर्ताका लागि सचेतनामुलक कार्यक्रमलाई र कारोबारी अर्थात लागुऔषध ब्यवसायीलाई कडाईका साथ कानुनी कार्वाहि गर्नूपर्ने धारणा राखेका थिए । नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकारहरुको उल्लेख्य उपस्थीति रहेको कार्यक्रममा बक्ताहरु निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, डिएसपी दक्षकुमार बस्नेत, बरुण बहुमुखी क्याम्पसका प्रमुख चित्ररेखा अधिकारी तुम्लिङटार स्पोर्टिङ्ग क्लवका अध्यक्ष देवेन्द्र घिमिरे, बरुण बहुमुखी क्याम्पसका स्ववीयू सभापति हिमाल गुरुङ्गले आआफ्ना तर्फबाट लागुऔषध दुब्र्यसन तथा ओसारपसार बिरुद्ध प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका थिए ।