संखुवासभाको सभापोखरी गाउँपालिका स्थित बाह्रबिसे बजारमा सम्पन्न अन्तरपालिका स्तरीय ‘सभापोखरी कप भलिबल प्रतियोगिता’को पुरुषतर्फ उपाधि आयोजक सभापोखरी गाउँपालिकाले जितेको छ भने महिलातर्फ खाँदबारी नगरपालिकाले उपाधि हात पारेको छ ।
पुरुषतर्फको रोमाञ्चक फाइनल खेल २–२ को बराबरीमा पुगेपछि निर्णायक पाँचौं सेटमा उत्कृष्ट प्रदर्शन गर्दै सभापोखरीले भोजपुरको षडानन्द नगरपालिकालाई पराजित गर्दै उपाधि जित्न सफल भयो । महिलातर्फ खाँदबारी नगरपालिकाले पाँचखपन नगरपालिकालाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।
पुरुषतर्फ पाँचखपन नगरपालिकाले तेस्रो स्थान हासिल गर्दा झापा बिर्तामोड नगरपालिकाले सान्त्वना स्थानमा चित्त बुझाएको थियो । महिलातर्फ ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले तृतीय स्थान प्राप्त गर्दा आयोजक सभापोखरी गाउँपालिकाले सान्त्वना स्थानमा सीमित रहनुपरेको थियो ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार रु. पाँच लाख,५५ हजार ५५५, द्वितीय रु. दुई लाख ३३ लाख तीन सय ३३, तृतीय रु. एक लाख ११ हजार एक सय ११ र सान्त्वना रु. ५५ हजार निर्धारण गरिएको थियो। महिलातर्फ प्रथम रु. ३ लाख ३३ हजार तीन सय ३३, द्वितीय रु. दुई लाख २२ हजार दुई सय २२, तृतीय रु. सतहत्तर हजार सात ७७ र सान्त्वना रु. ४४ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
विधागत पुरस्कारतर्फ पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी सभापोखरीका हर्सित घोषित भएका छन् । उनलाई रु. तीस हजार नगद पुरस्कार प्रदान गरिएको छ । महिलातर्फ सर्वोत्कृष्ट खेलाडी खाँदबारीकी जेनिषा विश्वकर्मा घोषित भएकी छन् । उनलाई रु. पन्ध्र हजार प्रदान गरिएको छ। त्यसैगरी अन्य विधागततर्फ स्पाइकर, डिफेन्डर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकतर्फ पुरुष तथा महिला दुवै तर्फका उत्कृष्ट खेलाडीहरूलाई जनही रु. पाँच हजार का दरले पुरस्कार प्रदान गरिएको छ ।
पुरुषतर्फ उत्कृष्ट स्पाइकर निसान ठाकुर सभापोखरी, उत्कृष्ट डिफेन्डर सन्तोष राई षडानन्द, उत्कृष्ट ब्लकर रिसर्भ सभापोखरी, उत्कृष्ट सर्भर तनिस चौधरी सभापोखरी, उत्कृष्ट सेटर हरिहर थापा षडानन्द र उत्कृष्ट प्रशिक्षक सुमन श्रेष्ठ सभापोखरी घोषित भए ।
महिलातर्फ उत्कृष्ट स्पाइकर निशा महर खाँदबारी, उत्कृष्ट डिफेन्डर एन्जिला प्रधान खाँदबारी, उत्कृष्ट ब्लकर सुनिता खड्का मानेभञ्ज्याङ ओखलढुंगा, उत्कृष्ट सर्भर कोपिला राना पाँचखपन, उत्कृष्ट सेटर भावना तामाङ खाँदबारी र उत्कृष्ट प्रशिक्षक कुमार राई खाँदबारी घोषित भएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ ६ टोली र महिलातर्फ ७ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताले स्थानीय खेलकुदको विकास र प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।